काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनाको विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार, चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई पाँच खर्ब १२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव पाँच प्रतिशत र २७ दशमलब सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलब चार प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा तयारी पोशाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युत्तीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ ।
त्यस्तै, चार महिनामा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ ।
भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
चालु आवको चार महिनामा कुल वस्तु व्यापारघाटा तीन दशमलव तीन प्रतिशतले कमी आई चार खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलब नौ प्रतिशतले घटेको थियो ।