मूल्यवृद्धि घट्यो, हिमालमा उपभोक्ता मुद्रास्फीति ८.७९ प्रतिशत रहँदा काठमाडौंमा कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनमा साउनदेखि कात्तिकसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११.०० प्रतिशतले बढेको छ । समीक्षा महिनामा घ्यू तथा तेल र तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको छ ।

गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरुको १०.७६ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिब तथा घरायसी उपकरणहरुको ५.२७ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ । समीक्षा महिनामा यातायात उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक १.८६ प्रतिशतले घटेको छ ।

कात्तिक महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.०० प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ६.०७ प्रतिशत र हिमालको ८.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरुको यस्तो मुद्रास्फीति क्रमशः ७.५६ प्रतिशत, ८.५२ प्रतिशत, ८.०३ प्रतिशत र ६.६८ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स