काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले सेयर बजारमा उत्साह देखिएको बताएका छन् । बुधबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले अर्थतन्त्र चलायमान हुन सहज बनाएको बताए ।
उनले बैंक तथा वित्तीय संस्थासहित समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको बताए । ‘मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा देखिएको उत्साहले सकारात्मक संकेत गरेको छ’, उनले भने, ‘ ब्याजदर घटाउने गरी मौद्रिक नीतिको समीक्षा आएको छ, अब कर्जा विस्तार पनि बढ्दै जाने छन् । जसका कारण सेयर बजारसँगै अब घरजग्गाको कारोबारमा पनि वृद्धि हुने छ ।’
समग्रमा मुलुकको अर्थतन्त्रले सकारात्मक बाटो समाएको र मौद्रिक नीतिको समीक्षापछि अर्थतन्त्र थप चलायमान हुने अर्थमन्त्रीको विश्लेषण रहको छ ।
अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गए पनि जनस्तरमा परिणाम देखिन समय लाग्ने उनले बताए । बजारमा बढिरहेको निरासाका बीच सरकारले जिम्मेवार भएर सुधारका काम गरिरहे पनि जनस्तरमा परिणाम देखिन समय लाग्ने उनको भनाइ छ ।
‘हाम्रो अर्थतन्त्रमा संरचनात्मक समस्या पनि छ । त्यसमा एक्कै पटक सुधार हुन सक्दैन, महतले भने, चालु आर्थिक वर्षको बजेट मार्फत् सरकारी खर्च प्रणालीमा केही सुधार गर्ने प्रयास गरेका थियौं । आगामी आर्थिक वर्षमा कुन क्षेत्रमा कस्तो सुधार गर्ने भन्ने विषयमा आन्तरिक तयारी सुधार भएको छ । सरकार संरचनात्मक सुधार गर्न जिम्मेवार तथा प्रतिवद्ध छ ।’