देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि, मुस्ताङ र मुगुमा शून्य संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा संक्रमण पाइएको हो ।

आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी संक्रमित भएका जिल्ला चार र २०० भन्दाबढी संक्रमित भएका जिल्ला १४ रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमण हुने जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । सङ्क्रमति शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन् ।

पछिल्लो २४ घन्टामा ९३२ जना सङ्क्रमणबाट निको भएका छन् ।

यससँगै नेपालमा हालसम्म सात लाख ८५ हजार ८१३ जनामा सङ्क्रमण रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७.२ प्रतिशत रहेको छ । आज कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३३७ जनाको निधन भएको छ ।

त्यसैगरी होम आइसोलेसन १० हजार ११६, संस्थागत आइसोलेसनमा ८३० जना, सघन उपचार कक्ष (आइसियु)मा २७९ र भेन्टिलेटरमा ९१ जना रहेका छन् । आज ५८ हजार ८५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ९४ हजार २७४ पहिलो मात्रा र ६५ लाख ४६ हजार २३७ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स