एनसेलको सेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन, यस्ता छन् मन्त्रिपरिषद बैठकको बाँकी निर्णय

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद–बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले छन् । यस समितिलाई प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ ।

मन्त्रिपरिषद बैठकले खानेपानी तथा महशुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

त्यस्तै, बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा विश्व बैंकबाट प्रादेशिक तथा स्थानीय सडक उद्धार कार्यक्रम पहिलो चरणका लागि प्राप्त सहायता सम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्न अख्तियारी दिने निर्णय गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स