भारतद्वारा कपिलवस्तुमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारले कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिकास्थित श्री गौतम बुद्ध माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय तथा प्रयोगशाला भवनको उद्घाटन गरेको छ । नेरु ३.३२३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको आज उद्घाटन गरिएको हो ।

आज भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव, जिल्ला समन्वय समिति, कपिलवस्तुका प्रमुख बाबुराम आचार्य र बुद्धभूमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले औपचारिक उद्घाटन गरे ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक÷शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तल्ले विद्यालय भवन, तीन तल्ले प्रयोगशाला भवनको निर्माणमा र फर्निचर एवम् प्रयोगशाला उपकरण खरिदमा उपयोग गरिएको थियो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । जिल्ला समन्वय समिति, कपिलवस्तुमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको हो । भारतीय राजदूतावास, काठमाडौंका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले यी परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए ।

साथै उनले यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको बताए । उनले दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरे । श्री गौतम बुद्ध माध्यमिक विद्यालय सन् १९७८ मा सामुदायिक शैक्षिक संस्थाको रुपमा स्थापना भएको हो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस विद्यालयले शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको छ । यस विद्यालयमा प्ले ग्रुपदेखि प्लस टु लेभलसम्मको पढाई हुन्छ । हाल यस विद्यालयको विद्यार्थी क्षमता १२०० भन्दा बढी रहेको छ र विद्यालयमा करिब ५२% छात्रा रहेका छन् ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् जसमा ५ वटा परियोजना कपिलवस्तुमा छन् । यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये लुम्बिनी प्रदेशलाई १६० वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ । यसमा १८ वटा एम्बुलेन्स र ४ वटा स्कुल बस कपिलवस्तु जिल्लालाई उपलब्ध गराइएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । यस परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स