काठमाडौं । मुलुकको अग्रणी केबुलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि. पर्यटन विधाबाट सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ ।
मनकामना दर्शनले आर्थिक वर्ष २०७८/७९ मा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका कम्पनीमध्ये सबैभन्दा बढी आयकर तिरेकाले सरकारले सम्मान गरेको हो ।
सरकारले २०८० सालको राष्ट्रिय कर दिवसको अवसर पारेर बिहीवार कम्पनीलाई सम्मानित गरेको हो । सो अवसरमा सबैभन्दा बढी कर दाखिला गर्ने विभिन्न विधाका १६ करदाता सम्मानित भएका थिए ।
प्रतिष्ठित व्यवसायी स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठले स्थापना गरेको मनकामना दर्शन प्रालिले २०५५ मंसिरदेखि चितवनको इच्छाकामना गाउँपालिका, चेरेशबाट गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गर्दै आएको छ ।
कम्पनीले देशका अन्य भागमा पनि केबुलकार सञ्चालन गरिरहेको छ ।