काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा, ड्रोनबाट पनि निगरानी

काठमाडौं । आज बिहानै देखि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेकपा एमालेको युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानले आज गर्ने प्रदर्शनलाई लक्षित गरी काठमाडौं उपत्यकामा विशेष सुरक्षा व्यवस्था कडा पारिएको हो ।

प्रदर्शनमा घुसपैठ हुन सक्ने र अप्रिय घटना हुन सक्ने सम्भावनालाई विश्लेषण गर्दै काठमाडौं उपत्यकामा एकीकृत विशेष सुरक्षा योजना लागू गरिएको छ ।

बल्खु र तीनकुने क्षेत्र वरपर ड्रोनबाट पनि निगरानी गर्ने तयारी गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि पनि ९ सय ७८ जना ट्राफिक प्रहरी परिचालन गरिने बताइएको छ।

व्यवसायी प्रसाईंको अभियान मुख्यगरी काठमाडौंको बल्खु क्षेत्रमा केन्द्रित हुने भएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नाम दिइएको उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका प्रदर्शनकारीहरू विभिन्न रुट प्रयोग गरी बल्खु क्षेत्रमा भेला हुने बताइएको छ।

कार्यक्रममा राष्ट्रिय झन्डा र धार्मिक झन्डाबाहेक अन्य झन्डा बोक्न निषेध गरिएको छ भने धर्मगुरुहरुलाई अग्रस्थानमा राखेर र्‍याली अगाडि बढाइने पनि बताइएको छ।

युवा संघको नेतृत्वमा तीनकुनेमा प्रदर्शन हुने बताइएको छ। सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डिआइजी लालमणि आचार्यको नेतृत्वमा एकीकृत कमान्ड सेन्टर स्थापना गरिएको छ। जसमा सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू रहेका छन्।

आजको सुरक्षाका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने छ। काठमाडौंमा २ हजार ६ सय ३७ प्रहरी, ललितपुरमा ५ सय ६४ प्रहरी र भक्तपुरमा ४ सय ४ जना प्रहरी परिचालन गर्ने बताइएको छ। चोक(चोकमा हतियारसहित सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर, माइतीघर खण्ड, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास लगायत क्षेत्रका वरपर निषेधाज्ञा जारी गरिएको छ । यसैगरी ललितपुर प्रशासनले पनि पुल्चोकस्थित मन्त्री निवास र संयुक्त राष्ट्रसंघको कार्यालय वरपरको क्षेत्रमा पनि निषेधाज्ञा जारी गरेको छ ।

प्रदर्शनको कारण आज उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित हुने निश्चित छ । यसैगरी ट्राफिक प्रहरीको एफएमले पनि सडकको अवस्थाबारे निरन्तर जानकारी दिने व्यवस्था मिलाएको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स