४० लाख बराबरका सामान प्रहरीद्वारा हस्तान्तरण

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउनयता विभिन्न सवारीसाधनमा छुटेका  ४० लाखभन्दा बढीका  सामान खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएको छ । साउनदेखि हालसम्म एक सय ३३ जनाले गाडीमा सामान हराएको भन्दै निवेदन दिएका थिए ।
प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टका अनुसार निवेदनका आधारमा ९९ जनाको धनमाल खोजी गरी सम्बन्धितलाई बुझाइएको छ ।  आफ्नो धनमालको सुरक्षा गर्न र सवारी साधनमा सामान छुटेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न तथा नजिकैको प्रहरी कार्यालयमा लिखित निवेदन बुझाउन अनुरोध गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको खोजतलास शाखाले सवारी साधनमा छुटेको धनमाल प्राप्त निवेदनका आधारमा खोजी गरेर धनीलाई बुझाउँदै आएको छ । पछिल्लो पटक भने हिजो मात्रै काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर ट्राफिक प्रहरीले सम्बन्धित व्यक्तिलाई बुझाएको थियो ।
जडिबुटीबाट जोरपाटी जम्मुडाँडासम्म जाने क्रममा बा२ज ३४५३ नम्बरको ट्याक्सीमा करिब सात तोला बराबरको सुन र चार तोलाका चाँदीका गहना भएको झोला छुटेको भनी रामेछापकी सङ्गीता तामाङले ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा खबर गरेका थिए ।  प्राप्त खबर तथा लिखित निवेदनको आधारमा ट्राफिक प्रहरीले सिसीटिभी क्यामेराको सहायतामा खोजी गरिरहेको समयमा ट्याक्सी चालक रोशन वयलकोटी स्वयं सुनका गहना बुझाउन ट्राफिक प्रहरी वृत्त गौशालामा पुगेका थिए । त्यसपछि प्रहरीले उक्त सामान धनीलाई बुझाएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स