सूर्यको पूजा आराधना गरि काठमाडौंमा मनाइयो छठ पर्व

काठमाडौं । काठमाडौं उपत्यकामा छठ पर्वको मुख्य दिन आज सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । नेपाल र भारतका उतरीय क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्त्वपूर्ण पर्व छठ हो । यो पर्वमा षष्ठी भगवतीको पूजा अर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ।

छठ पर्वको मुख्य दिनमा आज काठमाडौँको कमल पोखरी, थापाथली, गौरीघाट लगायतका स्थानमा छठ मनाउनेहरुको रौनक छ । छठका लागि नदी, खोला, पोखरीमा पूजा सामग्रीले सजाउने र पूजा गर्ने गरिन्छ ।

छठ व्रतमा शारीरिक र मानसिक दुबै रूपबाट शुद्ध हुनुपर्दछ । छठको व्रतका नियम निकै कडा एवम् कठिन हुने गर्दछ ।

नेपालमा विशेष गरी तराई(मधेश) क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ ।


परम्परा अनुसार आज साँझ अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट भोली बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स