काठमाडौं । नेपाल सरकारले गत मंगलबारदेखि सबै बन्दा लोकप्रिय एप टिकटकमा प्रतिबन्ध लगाएको छ । चीनले निर्माण गरेको छोटो भिडियो होष्टिङ टिकटक बन्द भएपछि टिकटक प्रेमीहरु छटपटिमा परेका छन् ।
परराष्ट्र मन्त्री अमेरिकाको भ्रमणमा गएर आएपछि अमेरिका र भारतको दवावमा नेपालमा टिकटक बन्दा गरेको भन्ने भनाइ पनि बाहिर आउन थालेका छन् । नेपाल र चीनबीचको कुटनीतिक सम्बन्ध खल्बलाउन यस्तो पासा खेलिएको हो भन्ने एकतर्फीको भनाइ छ भने अर्कोतर्फ सामाजिक सदभाव बिग्रने गरी टिकटकमा भिडियोहरू आएकाले बन्द भएको भन्ने भनाइ अर्को पक्षको रहेको छ । टिकटकले सामाजिक सञ्जाल बन्द गर्ने हो भने फेसबुक, इन्स्ट्राग्राम, टुइटर, युटुब जस्ता एपमा पनि प्रतिबन्द लगाउनु पर्ने प्रशस्तै उदाहरण देख्न सकिन्छ ।
नेपालमा टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कार्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको रिट निवेदकले बताएका छन् । रिट निवेदनमा सरकारले गरेको उक्त निर्णय खारेज गर्न माग गरिएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेका अनुसार टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध १० वटा रिट निवेदन परेका छन् भने उक्त विवादको सुनुवाइ यही मङ्सिर ४ गतेका लागि तय गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशमा सामाजिक सद्भाव खलबल्याउन नपाउने कुरा संविधान र प्रचलित कानुनहरूमा रहेको र त्यही आधारमा टिकटक बन्द गरिएको दाबी गरेकी छिन् । सामाजिक सद्भाव र व्यक्तिगत धृणा फैलाउने माध्यमको रुपमा दुरुपयोग हुन थालेकोे भन्दै सरकारले टिकटक बन्द गरेको हो । पछिल्लो ४ वर्ष ३ महिनाभित्रमा १ हजार ६ सय ४८ वटा साइबर अपराधका उजुरी दर्ता भएका छन् । अधिकांश साइबर मुद्दा टिकटकसँग सम्बन्धित छ ।
टिकटक नेपालीमाझ अत्यधिक लोकप्रिय एप हो । टिकटक बनाउने क्रममा सेती नदिमा एक युवतीको ज्यान गयो । टिकटक बनाउँदा दाङका एक युवाले झोलुंगे पुलबाट खसेर ज्यान गुमाए । यसरी लोकप्रिय एप टिकटककै लागि भनेर कतिले आफ्नो ज्यानसमेत गुमाएका छन् । त्यस्तै केही दिनयता नेपालका केही मिडियाहरूले टिकटकमा लाइभ बसेर करोडभन्दा बढी रकम कमाएको भन्दै समाचार पनि प्रकाशित गरेका छन् । टिकटक बाटै आफ्नो कला देखाएर चर्चित भएका छन् । टिकटकबाट धेरैले व्यापार व्यवसायी पनि गरेका थिए ।
३ देखि १५ सेकेन्डसम्मकोे श्रव्य दृश्य बनाउन सकिन्छ यो एप झाङ यिमिङले चीनको राजधानी बेइजिङमा सन् २०१२ मा सुरु गरेका थिए । यसको आधिकारिक अनुप्रयोग भने सन् २०१७ मा आईओएस र एन्ड्रोइडको लागि चीन बाहिरका बजारहरूको लागि मात्र सुरु गरिएको थियो । यसले छोटो दोहोरिँदो भिडियोको लम्बाईलाई ३ देखि ६० सेकेन्ड सम्ममा सीमित गरेको छ । यो एसिया, संयुक्त राज्य अमेरिका र विश्वका अन्य भू–भागहरूमा लोकप्रिय बनेको छ । टिकटक चीनमा भने उपलब्ध छैन ।
अक्टोबर २०१८ मा टिकटक संयुक्त राज्य अमेरिकामा सर्वाधिक डाउनलोड गरिएको अनुप्रयोग बन्न सफल भएको थियो । उक्त सफलता प्राप्त गर्ने यो पहिलो चिनियाँ अनुप्रयोग हो । सन् २०१८ मा, यो विभिन्न देशका १ सय ८० भन्दा बढी बजारहरूमा र ८५ भाषाहरूमा प्रयोगे भएको थियो। फेब्रुअरी २०१९ मा, दोउयिन सहित टिकटकले, चीनमा एन्ड्रोइड स्थापनाहरू बाहेक, विश्वव्यापी रूपमा १ अरब डाउनलोड पार गरेको थियो । टिकटकले २०१० देखि २०१९ सम्मको दशकको ७ औं सर्वाधिक डाउनलोड गरिएको सन् २०१९ मा, मोबाइल अनुप्रयोग बनेको घोषणा गरेको थियो। जुन २०२० देखि, केभिन मायर टिकटकका प्रमुख कार्यकारी र सञ्चालन अधिकृत हुन् ।
बाइटड्यान्सले ९ नोभेम्बर २०१७ मा टिकटकलाईे प्रतिस्पर्धाी म्युजिकल्लीलाई खरीद गर्न १ अर्ब अमेरिकी डलर खर्च गरेको थिया । यसको कार्यालय साण्टा मोनिका, क्यालिफोर्नियाको रहेको थियो जसमा यसको सेवाले अमेरिकाकमे युवा युवतीहरूलाई लक्षित गरेको थियो। अमेरिकी युवा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै टिकटक र म्युजिकल्ली २ अगष्ट २०१८ मा समायोजित भएका थिए जसको उद्देश विद्यमान खाता र डाटालाई एक अनुप्रयोगमा संरक्षित गरी एक ठूलो श्रव्य दृश्य समुदाय सृजना गर्नु थियो ।
क्यालिफोर्निया
नोभेम्बर २०१८ मा, यसको विरुद्ध क्यालिफोर्नियामा प्रतिनिधि मुद्दा दायर गरिएको थियो । टिकटकले अमेरिकी व्यक्तिहरूको व्यक्तिगत पहिचान योग्य जानकारी चीनमा अवस्थित थङ्सिन र अलीबाबाको स्वामित्वमा रहेको सर्भरमा हस्तान्तरण गरेको थियो । उक्त मुद्दामा टिकटकको अभिभावक कम्पनी बाइटडनन्सलाई उनीहरूको अनुमति बिना प्रयोगकर्ता सामग्री प्रयोग गरेको आरोप पनि लगाएको थियो ।
भारत
भारतले सन् २०१९ को एप्रिलमा एक अदालतको आदेशमा छाडा यौन क्रियाकलाप प्रदर्शन गरेको भन्दै टिकटकमा प्रतिबन्ध गरेको थियो । चीन भारत सीमामा दुई देशबीचको सेनाबीच तनाव बढेपछि भारतले भारतको सम्प्रभुता, भारतको सुरक्षामा खतरा पैदा भएकाले टिकटक सहितका चिनियाँ एप बन्द गरेको थियो ।
अफगानिस्तान
सन् २०२२ मा अफगानिस्तानमा सरकारमा आए लगत्तै तालिवानले इस्लामिक कानुन विपरीत रहेको भन्दै टिकटक बन्द गरेको थियो । ब्लुमबर्गका अनुसार यस प्लेटफर्ममा आउने सामग्रीले युवाहरूलाई गलत बाटोतर्फ लाने र त्यस्ता सामग्री इस्लामिक कानूनसँग मेल नखाने भएकाले तालिवानले टिकटकमाथि रोक लगाएको हो ।
इन्डोनेसिया
३ जुलाई २०१८ मा, टिकटकलाई इन्डोनेसियामा प्रतिबन्ध गरिएको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले यसमा धेरै नराम्रा सामग्री रहेको जसले बालबालिकाहरूलाई हानि गर्ने भन्दै प्रतिबन्ध गरिएको बताएको थियो।
अस्ट्रेलिया
अष्ट्रेलियाको संघीय सरकारले अप्रिल २०२३ मा सरकारी डिभाइसमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।
बेल्जियम
मार्च २०२३ देखि बेल्जियमले पनि टिकटकमाथि अस्थायी रूपमा प्रतिबन्ध लगाएको छ । रोयटर्सका अनुसार त्यहाँको संघीय सरकारको स्वामित्वमा रहेका डिभाइसहरूमा टिकटक प्रयोग गर्न पाइँदैन । प्रतिबन्धको कारण राज्यको सुरक्षा तथा साइबर सुरक्षाको विषयलाई मानिएको छ ।
क्यानडा
फेब्रुअरी २०२३ देखि क्यानडाको सरकारले जारी गरेका डिभाइसमा टिकटक प्रयोग गर्न रोक लगाइएको छ । बीबीसीका अनुसार गोपनीयता र सुरक्षाका कारण क्यानडलाले टिकटकमाथि प्रतिबन्ध लगाएको हो ।
डेनमार्क
डेनमार्कले गत मार्च २०२३ मा आफ्ना कर्मचारीहरुलाई काम गर्ने डिभाइसमा टिकटक प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।
युरोपेली संघ
मार्च २०२३ देखि युरोपेली संघले आफ्नो प्रमुख तीन निकाय युरोपेली संसद, युरोपेली आयोग र युरोपेली काउन्सिलका कर्मचारीलाई टिकटक प्रयोग गर्नबाट प्रतिबन्ध लगाएको छ । सीएनएनका अनुसार कर्मचारीहरूको व्यक्तिगत डिभाइसबाट समेत टिकटक एप हटाउन लगाउनुका साथै प्रयोग गर्न रोक लगाइएको छ ।
फ्रान्स
मार्च २०२३ देखि फ्रान्सले सरकारी कर्मचारीहरूलाई टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ । टेकक्रन्चका अनुसार डेटा सुरक्षालाई कारण देखाउँदै फ्रान्सेली सरकारले टिकटकमाथि रोक लगाएको हो ।
लात्भिया
मार्च २०२३ देखि युरोपेली देश लात्भियाको विदेश मन्त्रालयले सुरक्षा कारण देखाउँदै टिकटक प्रतिबन्ध गरेको थियो । त्यहाँ विदेश मन्त्रालय अन्तर्गतका डिभाइसहरूलाई टिकटक एप प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ ।
नेदरल्याण्ड्स
नोभेम्बर २०२२ देखि डच सरकारले आफ्ना कर्मचारीलाई टिकटक प्रयोग गर्नबाट रोक लगाएको छ । पोलिटिकोका अनुसार कर्मचारीका फोनमा टिकटक चलाउन पाइँदैन ।
न्युजिल्याण्ड
मार्च २०२३ देखि न्युजिल्याण्डले आफ्ना सांसदहरू तथा कर्मचारीहरूलाई टिकटक प्रयोग गर्नबाट रोक लगाएको थियो । राष्ट्रिय साइबर सुरक्षालाई कारण देखाउँदै उनीहरूको फोनबाट टिकटक हटाउने र प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो ।
नर्वे
सरकारी कर्मचारीहरूलाई टिकटक प्रयोग गर्न रोक्ने र प्रतिबन्ध लगाउने गरी नर्वेको सरकारले मार्च २०२३ देखि आफ्नो निर्णय कार्यान्वयन गरिसकेको छ । यसका साथै राजधानी ओस्लो र दोस्रो ठूलो सहर बर्गनका नगरपालिकाहरूले पनि आफ्ना कर्मचारीहरूलाई टिकटक हटाउन निर्देशन दिएका छन् ।
पाकिस्तान
एपले अनैतिक सामग्रीहरूलाई फैलाउन सहयोग गरेको भन्दै पाकिस्तान सरकारले अक्टोबर २०२० देखि हालसम्म कम्तीमा चार पटक टिकटकमाथि अस्थायी रूपमा प्रतिबन्ध लगाइसकेको छ ।
ताइवान
टिकटकले राष्ट्रिय सुरक्षा जोखिमलाई खतरामा पार्न सक्ने बताउँदै डिसेम्बर २०२२ देखि ताइवानले पनि यसमाथि प्रतिबन्ध लगाएको छ । सरकारी उपकरणहरूमा चीनमा तयार भएका सफ्टवेयर प्रयोग गर्न नदिने बताउँदै ताइवानले टिकटकसहित अन्य एपमाथि रोक लगाएको छ ।
बेलायत
बेलायतले मार्च २०२३ देखि राज्यका मन्त्रीहरू र निजामती कर्मचारीहरूले प्रयोग गर्ने मोबाइल फोनमा टिकटक प्रयोग गर्न रोक लगाएको छ । बेलायतको नेसनल साइबर सेक्युरिटी सेन्टरले गरेको अध्ययनपछि बेलायती सरकारले यस्तो निर्णय लिएको थियो ।
संयुक्त राज्य अमेरिका
संयुक्त राज्य अमेरिकामा २०२२ डिसेम्बरमा राष्ट्रपति जोय बाइडेनले डिसेम्बरले ‘नो टिकटक अन गभर्मेन्ट डिभाइस एक्ट’ मा हस्ताक्षर गरेका थिए । त्यसपछि डेटा सुरक्षाको कारण देखाउँदै संघीय सरकारको स्वामित्वमा रहेका डिभाइसहरूमा टिकटक प्रयोग गर्न निषेध गरिएको छ ।
टिकटकमाथि प्रतिबन्ध लगाएका अधिकांश देशले राष्ट्रिय सुरक्षा, गोपनीयता, सूचना चोरी लगायतलाई कारण मानेका छन् । अहिलेसम्म विश्वभरि आफ्ना सक्रिय प्रयोगकर्ताको सङ्ख्या १ अर्बभन्दा बढी रहेको टिकटकको दाबी छ ।