काठमाडौं । देशमा आर्थिक गतिविधि बढ्न नसक्दा असोज महिनामात्रै १ अर्ब १८ करोड रुपैयाँको बीमा सरेण्डर भएको छ । सदाको महिनाजस्तो नेपाल लाइफका बीमितले सबैभन्दा बढी बीमा सरेण्डर गरेका छन् । असोज महिनामात्रै कम्पनीका २ हजार ६ सय ४९ जना बीमितले ३८ करोड ९३ लाख ९९ हजार रुपैयाँका बीमा सरेण्डर गरेका हुन् ।
लाइफ इन्स्यारेन्स कर्पोरेशन नेपालका १ हजार ८ सय १५ बीमितले २६ करोड रुपैयाँको बीमा सरेण्डर गरेका छन् भने बढी बीमा पोलिसी सरेण्डर गर्ने तेस्रो कम्पनीमा सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी परेको छ । कम्पनीका १ हजार ६५ बीमितले ९ करोड ९१ लाख ७८ हजार रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेको छ ।
त्यसैगरी नेशनल लाइफका ८ सय ४९ बीमितले ९ करोड ४९ लाख, मेट लाइफका ४ सय ८ बीमितले ३ करोड ६७ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका छन् ।
हिमालयन लाइफ इन्स्यारेन्सका ८ सय ५५ बीमितले ७ करोड ७७ लाख रुपैयाको बीमा पोलिसी सरेण्डर भएको छ भने एशियन लाइफ इन्स्योरेन्सका ७ सय ५८ बीमितले ६ करोड ५१ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएको छ ।
सूर्यज्योति लाइफको ६ सय २१ पोलिसी सरेण्डर हुँदा ८ करोड ८५ लाख रुपैयाँ सरेण्डर भएको छ । सिटिजन लाइफको २ सय ५६ वटा पोलिसी सरेण्डर हुँदा १ करोड १४ लाख रुपैयाँको बीमितले फिर्ता लिएका छन् । आईएमई लाइफ इन्स्यारेन्सको १ सय ६४ बीमितले १ करोड ५२ लाख रुपैयाँको बीमा सरेण्डर गरेका छन् भने रिलायबल नेपाल लाइफ इन्स्यारेन्सका १ सय ६४ बीमितले १ करोड ५२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेको नेपाल बीमा प्राधिकरणले जानकारी दिएको छ ।
सानिमा रिलायन्सको १ सय ४३ पोलिसी सरेण्डर हुँदा १ करोड ६१ लाख रुपैयाँ फिर्ता भएको छ भने प्रभु लाइफको १ सय १४ पोलिसीबाट १ करोड २६ लाख रुपैयाँ सरेण्डर भएको छ ।
सन नेपाल लाइफका ७५ बीमितले ७९ लाख ९० हजार रुपैयाँको बीमा सरेण्डर गरेका छन् । बीमा पोलिसी सरेण्डर हुनेमा सबैभन्दा कम पोलिसी सन नेपाल लाइफको भएको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।