कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोगस्वरुप २० लाख बराबरको खेल सामग्री प्रदान

काठमाडौं । कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोगस्वरुप २० लाख बराबरको खेल सामग्री प्रदान गरिइएको छ ।आज यहाँ आयोजित कार्यक्रममा दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्णपदक विजेता निर्मल र निराजन श्रेष्ठले डोजाङका प्रमुख एवं तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई दुई ‘सेट प्रोटेक्टर इलेक्ट्रोनिक सिस्टम’ हस्तान्तरण गरे ।

सो अवसरमा डोजाङका प्रशिक्षक, खेलाडी, तेक्वान्दोको ग्योरोगी, पुम्से र पारा अन्तर्राष्ट्रिय निर्णायक एवं नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति रहेको थियो । उक्त सामग्री खरिद गर्न श्रेष्ठदाजुभाइसहित अस्ट्रेलियाका सक्षम कार्की, रञ्जन श्रेष्ठ, मनोज मल्ल, ज्ञानेन्द्र मल्ल र भुपेन श्रेष्ठ तथा मकाउ बस्ने राकेश केसीले सहयोग गरेको बताइएको छ ।

उनीहरु सबै तेक्वान्दो खेलाडी हुन् । मुख्य प्रशिक्षक नवीनकुमार अनुसार सहयोगी सबै कोटेश्वर तेक्वान्दो डोजाङका उत्पादन हुन् । निर्मल र निराजनले पाकिस्तानमा भएको नवौँं दक्षिण एसियाली खेलकुदमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । दुवै विगत १८ वर्षदेखि अमेरिका बस्दै आएका छन् ।

कार्यक्रममा निराजनले नेपालकै चर्चितमध्येको एक र राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाएका खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कोटेश्वर तेक्वान्दो डोजाङलाई सहयोग गर्न पाउदा खुसी लागेको जनाउँदै खेलाडीको समस्यामा हरदम सधै साथ रहने प्रतिबद्धता व्यक्त गरे ।

निराजनले भने, ‘म र मेरो दाइ ९निर्मल० पनि कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हौंं । मेरो दाइ (नवीन) हाम्रो गुरु हुन् । कोटेश्वर तेक्वान्दो डोजाङको काम प्रशंसनीय छ । खेलाडी उत्पादनमा डोजाङको भूमिका महत्वपूर्ण छ । त्यसैले हामी आफै र अरुसँग पनि सहयोग जुटाएर सानै भए पनि सहयोग गरौंं भनेर सामग्री दिएका हौं । आउने दिनमा पनि सक्दो सहयोग गर्छौ ।’ निर्मलले आफू विदेशमा भए पनि नेपाली तेक्वान्दो खेलाडीलाई सधै सहयोग गर्ने जानकारी दिँदै खेलाडीलाई अनुशासित र लगनशील भएर खेलमा लाग्न सुझाब दिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स