काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा गए राति फेरि बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ । बाढीको क्षतिका कारण तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको जानकारी दिए । ‘केही घरमा पानी पसेको छ, उनले भने तालामाराङ प्रहरी चौकीमा बाढीको लेदो माटो र पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको छ ।’
बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । रातो पुलको माथिबाट पानी बगेको छ । गत असार १ गते आएको बाढीमा पनि पुल माथिबाट पानी बगेको थिएन ।
हेलम्बु गाउँपालिका–१ हेमाथांका चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताए । चनौटे बजारको बीच भागबाटै पानी बगेको छ ।
यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतका स्थानमा ठूलो क्षति पुर्याएको थियो । सो बाढीका कारण ५ जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन् ।
बाढीपहिरो पीडितहरू विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा गएराति फेरि बाढी आएपछि उनीहरु थप समस्या र त्रासमा परेका छन् । यसअघिकै स्थानबाट अहिले पनि लेदो माटोसहितको बाढी बगेको स्थानीयले बताएका छन् ।