दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व तिहार

काठमाडौं । हिन्दु धर्मावलम्बीहरूको दशैँ पछिको सबैभन्दा ठूलो पर्व तिहार हो । तिहार दाजुभाइ तथा दिदीबहिनीबीच भेटघाट हुने एवं सम्बन्ध प्रगाढ बनाउने शुभ अवसर पनि हो । यो पर्व कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारबाट सुरु भएर शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ ।

पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । शरद ऋतुमा पर्ने यो चाडलाई प्रकाश, फुल र सप्तरंगी त्रिवेणीका रुपमा पनि लिईन्छ । यो समयमा जता ततै रंगी विरंगी फूलहरु ढकमक्क फुलेर सबै वातावरण नै सुवासमय र मनोरम बनेको हुन्छ ।

तिहारमा विभिन्न पशुपन्छिको पूजा गरिन्छ । पहिलो दिन कागको पूजा गरिन्छ । दोस्रो दिन कुकुरको र तस्रो दिन माता लक्ष्मीपूजा गरिर्ने परम्परा छ । यद्यपि यस वर्ष यमपञ्चक सुरु भएको दोस्रो दिननै माता लक्ष्मीको पूजा तथा आरधना गर्ने तिथि परेको छ । कहिले काहिँ लक्ष्मी पूजा र गाई तिहार पनि एकै दिन पर्छ भने कहिले गोर्वधन पूजा र गाईपूजा एकै दिन पर्ने गरेको छ ।

दिपावलीको चौथो दिनलाई गोरु तिहार (त्योहार) भनिन्छ । यस दिन बिहान जमिन जोत्न मुख्य भूमिका खेल्ने गोरुलाई पूजा गर्ने परम्परा रहेको छ । पाँचौँ दिन दिदीबहिनीहरु विभिन्न प्रकारका स्वादिला मिष्ठान्न तयार गरेर दाजुभाइलाई टीका लगाइदिने चलन रहेको छ ।

भाइटीकाका दिन सप्तरंगी रंग, पूजा सामग्री, तेल, दूबो, ओखर, सयपत्री, गोदावरी एवं मखमलीका माला, शृंगारका सामान (ऐना, गाजल), मिष्ठान्न परिकार, उपहार, दियो, कलश आदि सामग्रीको आवश्यकता पर्छ । दाजुभाइलाई तिहारमा काजु, पेस्ता, काजी बदाम, सुपारी, ल्वाङ, अन्जिर, दाख, फलफूल आदि दिने चलन छ भने सेलरोटी, अनरसा, विभिन्न किसिमका मिठाईं पनि प्रदान गरिन्छ ।

दाजुभाईलाई दिइने मसला
तिहारमा विशेषगरी भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइलाई दिने भाइमसला धेरै किसिमका हुन्छ । टीका लगाएपछि काजु, किसमिस, ओखर, बदाम, चकलेट, सुपारी, नरिवल, मखनलगायतका मसाला दिने चलन छ । दाजुभाईका लागि दिइने मसालाहरु स्वास्थ्यका लागि पनि निकै उपयोगी मानिन्छ ।

ओखर
भाइटीकाका दिन ओखर नभई हुन्न । दिदीबहिनीले दाजुभाइलाई टीका लगाउनुअघि मूलढोकामा ओखर फुटाउने गरिन्छ । त्यसरी ओखर फुटाउँदा दाजुभाइ तथा दिदीबहिनीका बाधा–अड्चन हट्ने जनविश्वास छ । ओखरको बजार मूल्य प्रतिकेजी ५०० देखी ६/ ७ सय सम्मा पाइन्छ । ओखर स्वास्थ्यको लागि पनि लाभदायिक मानिन्छ । ओमेगा ३ एसेसियल फ्याटी एसिडका लागि ओखर उपयुक्त स्रोत हो । ओखर मुटुको मांसपेशीमा हुने कमजोरी, दम, अर्थराइटिस, एक्जिमा पत्थरी लगायत ओखर सेवनले क्यान्सरसँग लड्ने क्षमता हुन्छ ।

नरिवल
नरिवलमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’ सँगै प्रोटिन, क्याल्सियम र फलाम पाइन्छ । तिहारको समय भएको हुनाले पनि यसको बजार मूल्य प्रतिकेजी १ हजार रहेको छ । यी सबै तत्व शरीरका लागि निकै उपयोगी हुन्छन् । नरिबल स्वास्थ्यका दृष्टिले अति उपयोगी फल हो । ढिलो गरी पाचन हुने, मूत्राशय शोधक, ग्राही, पुष्टिकारक, बलवर्धक, रक्तविकार नाशक, दाह शामक र वातपित्त नाशकको रुपमा नरिबललाई लिइन्छ ।

काजु
काजुले मुटुलाई स्वस्थ र बलियो राख्छ । काजुको बजार मूल्य भने महङगो छ, १७ सय देखी २ हजार पर्छ । काजुमा पाइने विभिनन तत्वले मुटुका मांसपेशीलाई बलियो बनाउन मद्दत गर्छन् । काजुको सेवनले शरीरमा इन्सुलिनको मात्रा बढाउँछ जसले गर्दा डायबेटिज नियन्त्रित अवस्थामा रहन्छ ।

किसमिस
अंगुरलाई सुकाएर बनाइने किसमिस मानव स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ । यसको बजार मूल्य प्रतिकेजी ६ सय रहेको छ । किसमिसलाई आइरनको राम्रो स्रोत मानिन्छ । यो रक्तअल्पता एवं कब्जियत हटाउन सहयोगी हुन्छ । किसमिसमा रहेको आइरन, पोटासियम, क्याल्सियम, म्याग्नेसियम तथा अधिक मात्रामा फाबर हुने गर्दछ ।

बदाम
भाई मसलामा बदाम पनि नभई नहुने खाद्यपदार्थ हो । बजारमा यसको मूल्य प्रतिकेजी १३ सय रहेको छ । बदाम पनि स्वास्थ्यका लागि निकै फाइदाजनक रुपमा लिइन्छ । बदामको सेवनले रक्तकोष तथा हेमोग्लोबिनको विकासमा सहयोगी हुन्छन् । नियमति बदाम खानाले खानापछि बढ्ने सुगर, मधुमेह, को मात्रामा कमी आउँछ । साथै मधुमेह र मुटुको रोगको उपचारमा समेत मद्धत गर्छ ।

पेस्ता
पेस्ता पनि भाइ मसलामा महत्वूिण मानिन्छ । यसको मूल्य बजारमा प्रतिकेजी २८ सयसम्मा रहेको छ । शरीरको लागि निकै फाइदाजनक हुन्छ । पेस्तामा भिटामिन ई पाइन्छ । यसले छालालाई युभी ड्यामेजबाट सुरक्षा प्रदान गर्नुका साथै छालाको क्यान्सर तथा उमेरअघि नै देखिने चाउरीपनमा राहत दिन्छ । पेस्तामा प्रशस्त मात्रामा एन्टिअक्सिड पाइन्छ । यसमा मानव स्वास्थ्यका लागि आवश्यक फाइबर पनि हुन्छ । पेस्ताको नियमित सेवनले मस्तिष्क तेज हुनुका साथै रोगप्रतिरोधात्मक क्षमताको विकास हुन्छ ।

विषेश गरी दिदिबहिनीले दाजु भाईलाई काजु अल्मण्ड (ठूलो बदाम),पेस्ता ओखर (हाडे),ओखर (दाँते), नरिवल, मिश्री,अन्जिर, खुपार्नी, पान बुट्टे (मिश्री),मखन,(फुला), दालचिनी, ल्वाङ, सुकुमेल, बयर, सुपारी, छोकडा (पहेँलो), छोकडा (कालो),कटुस, (चकलेट लगायत अन्य फलफु दिने चलन रहेको छ ।

तिहारमा झिलिमिलि बत्तिको महत्व
दिपावलीमा माटोको दियोको विशेष महत्व हुन्छ । विषेशगरी तिहारमा घरआँगन झिलिमिली गर्न तथा लक्ष्मीको पूजाअर्चना गर्न माटोको पाला चोखो मानिँदै आएको छ। पछिल्लो समय प्रत्येक घर, कार्यालय, महल, पसल, वगैचा, होटेल, रेष्टुँरालगायतमा विद्युतीय झिलिमिली बत्तिले उज्यालो बनाएर अन्धयारो रातलाई झिलिमिलि बनाएको हुन्छ । गाउँघरमा बत्ति पुगेको छैन, त्यहाँ आज पनि मट्टीतेल, तोरीको तेल, डिजेलको प्रयोग गरी स, सानो टुकी, पाला र दियो बनाएर उज्यालो बनाउने चलन छ । त्यस्तै मैनवत्ति वालेर पनि घर आँगन उज्यालो बनाइन्छ । तिहारमा अन्य समयमा भन्दा धेरै पूजाआजा गरिन्छ । यो समयमा धूप, अगरबत्ती लगायतको प्रयोग पनि बढी नै हुन्छ । थोक व्यापारीले एउटा पालाको १ देखि दुई रुपैंयाँमा खरिद गर्ने र उनीहरुले केही मुनाफा खाएर काठमाडौँ उपत्यकाका विभिन्न स्थानका खुद्रा बिक्रेतामार्फत उपभोक्ता माझ पु¥याउने गरेका छन् । भक्तपुरमा उत्पादन गरेको पाला उपत्यकालगायत काभ्रेको बनेपा, धुलिखेल, पनौती, धादिङ, नुवाकोट, पोखरा, चितवन, हेटौँडा, त्रिशूलीलगायतका बजारमा बिक्री हुन्छ ।

तिहारमा फुलको महत्व
भाइटीकामा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गर्दै मखमलीको माला लगाइदिन्छन् । कहिल्यै नओइलाउने भएकाले मखमलीलाई स्वस्थ जीवन र दीर्घायुको प्रतीक मानिन्छ । मखमली फूल सेतो, हल्का रातो र गाढा कलेजी रङमा फुल्छ । संस्कृतमा यसलाई रक्त मल्लिका भनिन्छ । सयपत्रीको पनि आफ्नै महत्व छ । तिहारमा घर सजाउन होस् वा काग, कुकुर, गाई र दाजु–भाइ पूजा गर्न, सयपत्री–मखमली गोदावरी फूल नै प्रिय मानिन्छन्। काग तिहारमा कागलाई खाना खुवाउन, भोलिपल्ट कुकुर पूजा, गाई हुँदै गोवद्र्धन पूजा र भाइटीकामा सयपत्री र मखमली प्रयोग गर्ने चलन रहेको छ ।

दिदीबहिनीद्वारा कहिल्यै नसुक्ने तेल तथा दूबोले छेकी नओइलाउने मखमली एवं सयपत्री फूलको माला लगाइदिने चलन छ । शत्रुले दुःख दिन नसकून् भनी ढोकामा ओखर फोरी सप्तरंगी टीका लगाइदिएर मीठा–मीठा परिकार ख्वाउने चलन छ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गर्छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स