भृकुटी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले बाँडे बालबालिकालाई न्यानो कपडा

काठमाडौं । नुवाकोटको बेलकोटगढी नगरपालिका, वडा नम्बर १२ स्थित भृकुटी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् ।

उक्त विद्यालयका पूर्वविद्यार्थी उद्धव खनाल र विष्णु खनालले त्यहाँ अध्ययनरत शिशु कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई एक–एक सेट न्यानो कपडा सहयोग गरेका हुन् ।

उनीहरुले वितरण गरेको कपडामा विद्यालयको नाम छापिएको ट्र्याकसुट र टि–सर्ट एक–एक थान छन् । शुक्रवार विद्यालयले आयोजना गरेको तिहारको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको उद्धवले जानकारी दिए । उद्धव आफैं र विष्णुका छोरा विकास र छोरी पूर्णिमाले विद्यार्थीलाई कपडा वितरण गरेका थिए । विद्यार्थीलाई नियमित विद्यालय आउन प्रेरणा मिलोस् भनेर आफूहरुले बेला बेलामा विभिन्न सामग्री बाँड्ने गरेको र यसपालि न्यानो कपडा वितरण गरेको उद्धवको भनाइ छ ।

विद्यालयमा आयोजित कार्यक्रममा बेलकोटगढी–१२ का वडाअध्यक्ष डिल्लीराम सिलवालले यस्तो कार्यले विद्यार्थी बीचैमा पढाइ छाड्ने प्रवृत्ति न्यूनीकरणमा योगदान पुग्ने बताए । सहरतर्फको बसाइँसराइ र पठनपाठनको गुणस्तरका कारण ग्र्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घटिरहेकोले अभिभावक, शिक्षक र राज्य संयन्त्र गम्भीर भएर लाग्नुपर्ने सिलवालले बताए ।

‘नत्र राज्यको ठूलो लगानीबाट कुनै प्रतिफल आउँदैन,’ उनले भने । विद्यालयका प्रधानअध्यापक जगतबहादुर थापामगरले न्यानो कपडा, शैक्षिक सामग्री लगायतले विद्यार्थीमा प्रेरणा जगाउने बताए । विद्यालयले विद्यार्थी संख्या घट्न नदिन निःशुल्क यातायातको व्यवस्था गरेको तर दिगो स्रोत नहुँदा बसको सञ्चालन खर्च धान्न मुस्किल परिरहेको पनि उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स