तटीय क्षेत्रका बस्ती उच्च जोखिममा

महेन्द्रनगर । महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिकाका तटीय क्षेत्रका बस्ती डुबानको उच्च जोखिममा छन् ।

यहाँको महाकाली नदीमा बनिरहेको चार लेनको पक्की पुलसँगै निर्माण भएको ६ लेनको पहुँच मार्ग भत्किएर बाढी गाउँ बस्ने खतरा बढेको छ । ‘मंगलबार रातिसम्म पहुँच मार्गको ५० प्रतिशत चौडाइ नदीले कटान गरिसकेको थियो’, इलाका प्रहरी कार्यालय गड्डचौकीका प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, ‘अहिले त एक/दुई मिटर मात्रै सडक बाँकी छ ।’

पहुँच मार्ग भत्किए ऐरी, ओदाली, बडैपुर, पिपरियालगायत गाउँ डुबानमा पर्नेछन् । स्थानीय प्रशासनले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा जाली भर्ने कार्य गरेर सम्भावित जोखिम टार्ने प्रयास गरिरहेको छ । नदीमा पानीको बहाव घटिरहेको भए पनि छेउछाउका कटान भने तीव्र बनाएको छ ।

पहुँच मार्ग भत्किएर बस्ती डुबान हुनसक्ने भन्दै सो क्षेत्रका स्थानीयवासीलाई अन्यत्रका विद्यालय र सुरक्षित स्थानमा सारिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले मंगलबार मात्रै कञ्चनपुरमा बाढीबाट बच्न दुई हजार सात सय जनालाई सुरक्षित स्थानमा सारिएको बताए । ‘हिजो ५२७ परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भयो’, प्रवक्ता थापाले भने, ‘आज महाकाली गाउँ बस्ने खतरा भएकाले ऐरीघाटदेखि दक्षिण झोलुङ्गे पुलसम्म सुरक्षित स्थानमा सर्न माइकिङ गरेका छौं ।’

उनले धेरै स्थानीय सर्न तयार रहे पनि केहीले अटेर गरेको समेत बताए । ‘पहुँचमार्ग पूरै बगिसकेको होइन’, उनले भने, ‘बगेर महाकाली गाउँ पस्ने खतरा पनि धेरै छ ।’ उनले आज बिहान गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव तीन लाख १२ हजार क्युसेक पुगेको जानकारी दिए । त्यसैगरी दोधारा चाँदनी क्षेत्रमा पनि महाकालीले केही स्थानमा कटान गरिरहेको छ । त्यहाँ जोगबुढा र महाकाली नदीको बाढी गाउँ पस्दा केही वडाहरुका नागरिकलाई उद्धार गरिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स