फूलैफूलको मेलामा १ करोड बढीको कारोबार

काठमाडौं । ललितपुरको जावलाखेलमा ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने नाराका साथ सुरु भएको १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा १ करोड १७ लाखको कारोबार भएको छ । आयोजक संस्थाले १ करोड कारोवार हुने लक्ष्य राखेर सुरु गरिएको उक्त प्रदर्शनीमा लक्ष्यभन्दा १७ लाख बढीको कारोबार भएकोे जनाएको छ ।

उक्त प्रदर्शनीमा व्यवसायिक स्टल ६१, प्रतियोगितात्मक स्टल २, फ्लावर सजावट स्टल २ र सूचनामूलक ५ लगायत गरी ७० वटा स्टल राखिएको थियो । गोदावरीसँगै सयपत्री, मखमली लगायत थुप्रै प्रजातीका फूल प्रदर्शनीमा राखिएको थियो ।

सिजनल फूलको मूल्य तुलनात्मक रूपमा सस्तो भए पनि सजावटी फूलको मूल्य भने महँगो रहेको फ्यानका महासचिव विश्वमणी पोख्रेलको भनाई छ । प्रदर्शनीमा १५ रुपाँया पर्ने पिटुनिया देखि ३ लाख पर्ने फाइकस बेन्जामिनाको बन्साई समेत राखिएको थियो ।

मेलामा ४५ हजार जनाले अवलोकन गरेका थिए। सत्तरी वटा बिक्री कक्ष रहेको उक्त मेलामा बिक्री भएका फूलमध्ये ५० प्रतिशत गोदावरी फूल बिक्री भएको फ्लोरिकल्चर एशोसिएशसन नेपाल (फ्यान) का अध्यक्ष मीनबहादुर तामाङले बताए ।
पूर्वबडामहारानी कोमल राज्यलक्ष्मी शाहस्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, सांसद् डा तोशिमा कार्की, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतले पुष्पा मेलामा अवलोकन गरेका थिए ।

त्यसैगरी ‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने नाराका साथ नर्सरी व्यावसायी संघ नेपालले भृकुटीमण्डपमा तिहार फ्लोरा एक्स्पो सम्पन्न गरेको छ । एक्स्पोमा ६० लाखभन्दा बढीको कारोबार भएको छ भने, ३० हजार जना भन्दा बढीले अवलोकन गरेका छन् । एक्स्पोको गत मंगलबार नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

‘तिहारको महोत्सव, फूलको उत्सव’ भन्ने मूल नाराका साथ सुरु भएको मेलामा ६२, फुड स्टल २ र अफिसियल स्टल ३ गरेर ६७ ६७ वटा स्टल रहेको नर्सरी व्यवसायी संघले जनाएको छ ।

यही कार्तिक १४ गतेदेखि १८ गतेसम्म सञ्चालन भएको ‘फ्लोरा एक्स्पो’मा फूल तथा बत्तीको विशेष पर्व तिहारलाई लक्षित गर्दै देशका विभिन्न भागबाट नर्सरी व्यवसायीहरुको सक्रिय सहभागिता रहेको संघले जनाएको छ । तिहार फूलैफूलको पर्व भएको कारणले गर्दा उपभोक्तलाई फूल खरिदमा सजिलो होस, सबैखाले फूलहरु एउटै ठाउँमा किन्न सकियोस भन्ने उद्देश्यले एस्पोको आयोजना गरेको उनको भनाई छ ।

समाजकल्याण परिषदलाइ दैनिक ७५ हजार भाडा तिरेर सञ्चालन गरेको एस्पोमा स्टलले संघलाई प्रतिस्टल १८ देखि २५ हजार सम्म भाडा तिरेका थिए । मेलामा कम्तीमा ३० हजार अवलोकनकर्ताले अवलोकन गरेको साथै ६० लाखभन्दा बढीको आर्थिक कारोबार भएको संघका अध्यक्ष रामजीप्रसाद तिमिल्सिनाले बताए ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स