काठमाडौं । अर्थमन्त्री डा. प्रकाशसरण महतले ब्याजदरले मात्रै नभएर लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा समस्या आएको बताएका छन् । नेपाल बैंकर संघ र एशियन बैंकर संघको संयुक्त आयोजनामा सुरु दुई दिने सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा.महतले सो कुरा बताएका हुन् ।
कोरोना महामारीका कारण विश्व अर्थतन्त्रले ठूलो चुनौति भोगिरहेको उनले बताए । लगानीकर्ताको मनोबल कमजोर हुँदा पनि अर्थतन्त्रमा समस्या आउने गरेको बताए । ‘ब्याजदर उच्च हुँदा मात्रै अर्थतन्त्रमा समस्या आउँदैन, लगानीकर्ताको मनोबल खस्कियो भनेपनि प्रभाव पार्छ, दीर्घकालसम्म बलियो हुने गरी विकास हुनु पर्छ,’ उनले भने ।
उनले कोभिड(१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई कम गर्न अधिकांश देशका केन्द्रीय बैंकहरुले मौद्रिक नीतिमा कडाई गरेको र अवको अवस्था सहज बन्दै गएकोले मौद्रिक नीति खुकुलो बनाउँदै लैजान सुझाव दिएका छन् ।
अर्थमन्त्री महतले उच्च ब्याजदरका कारण नेपाल जस्ता देशको आर्थिक बृद्धिदर सुस्त बनेको र यसले निजी क्षेत्रको मनोबल गिराउने काम गरेकोमा चिन्ता व्यक्त गरे ।
डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंकरलाई आग्रह गरे । विश्व बैंक, एशियालि विकास बैंक लगायतले ठूला परियोजनामा लगानी गरिरहेकाले लगानीको वातावरण रहेकोे भन्दै उनले जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गरे ।
उनले एशिया भरका बैंकहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानीको अथाह सम्भावना रहेको सुनाउँदै आफ्ना क्षेत्रका लगानीकर्तालाई त्यसतर्फ प्रोत्साहन गरिदिन पनि आह्वान गरे ।
नेपालले हाइड्रोपावर र कृषिमा सम्भावना बोकेकोले नेपालका बैंकले जस्तो यी क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय बैंकलाई उनले आग्रह गरे । भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने सम्झौता गरेकोले नेपाल र विदेशका लगानीकर्ताको लगानीको लागि यो एउटा सुनौलो अवसर भएको उनले उल्लेख गरे ।
लगानी सहज बनाउनका लागि सम्पूर्ण कानुनी तथा अन्य संरचना नेपाल सरकारले बनाईसकेकोले उनले नेपालमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई आग्रह गरे ।