राष्ट्रपति पौडेलद्वारा अन्तर्राष्ट्रिय उद्योगी व्यापारीलाई लगानीका लागि आह्वान

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गरेका छन् ।
 एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआई) को संयुक्त आयोजनामा दुई दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनको आज यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् ।
राष्ट्रपति पौडेलले भने नेपालमा लगानीका क्षेत्र बढ्दै गएका छन् र लगानी सहज बनाउनका लागि कानुन निर्माण भइरहेका छन्, म कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगाानीका लागि अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आह्वान गर्दछु । आर्थिक विकासको तीव्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँंग जोड्न लगानी र व्यापारका क्षेत्रमा धेरै अवसर रहेको धारणा राष्ट्रपति पौडेलले व्यक्त गरे ।
सो अवसरमा राष्ट्रपति पौडेलले शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई अपिल पनि गरे ।
उनले साना र मझौला उद्यम हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको धारणा राखे। आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला पनि हो । साना र मझौला उद्यम अर्थतन्त्रका मेरुदण्ड हुन् । तिनीहरूले  वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन्, उनले भने ।
राष्ट्रपति पौडेलले उद्यमशीलता भनेको व्यवसाय सुरु गर्नु मात्र होइन, यो नवप्रवर्तनलाई अँगाल्ने, विविधतालाई सघनीकरण गर्ने र हाम्रा समुदायले सामना गर्ने ठूला चुनौती समाधान गर्ने सबैभन्दा बलियो आधार भएको बताए ।
नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा भएको भन्दै उनले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच स्थापित गर्न खोज्ने व्यवसायका लागि प्राकृतिक प्रवेशद्वार बनाउने बताए । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लगायतका क्षेत्रीय व्यापार सम्झौतामा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ, राष्ट्रपति पौडेलले भने ।
नेपालको श्रम बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक भएको र यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायको लागि सम्पत्ति भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स