जाजरकोट भूकम्पपीडितलाई कस– कसले गरे कति सहयोग ?

काठमाडौं । नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई २ लाखका दरले राहत दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले भूकम्पबाट घाइते भएका सबैलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।

संघीय सरकारले हिजो नै भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुमपश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल ५/५ करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै, लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए । कोशी प्रदेश सरकारले जाजरकोट भूकम्पपीडितका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको मुख्यमन्त्री केदार कार्कीले अपिलमार्फत जानकारी दिएका छन् ।

बाग्मती प्रदेश सरकारले भूकम्पपीडितलाई राहतस्वरूप १ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । भूकम्पबाट पीडितको राहत, उद्धर, र पुनर्निर्माणका लागि बाग्मती प्रदेश सरकारले १ करोड ५० लाख कर्णाली सरकारमार्फत वितरण गर्ने भएको हो ।

कोशी प्रदेश सरकारले १ करोड रुपैयाँ नगदसहित अन्य सामग्री उपलब्ध गराउने भएको छ। त्यस्तै गन्यापधुरा गाउँपालिकाले भूकम्प पीडितलाई २ लाख सहयोग गर्ने गरेको छ । भूकम्पपीडितका लागि सुदूरपश्चिम प्रदेश सरकारले शनिबार १ करोड रकम सहयोगका साथै प्रभावित क्षेत्रमा २० जना चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाउने निर्णय गरेको थियो ।

ललितपुरस्थित हात्तीवनमा रहेको एलए एजुकेसन ग्रूपका संस्थापक उमेश श्रेष्ठले भूकम्पमा आमाबाबु गुमाएका बालबालिकालाई दुई करोड रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराइने भएको छ। भूकम्पपीडितलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

भूकम्प पीडितहरुका लागि सशस्त्र प्रहरी बल नेपालले ३ वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनरमा टेन्ट पठाएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज काठमाडौंबाट तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो ।

गण्डकी प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि १ करोड सहयोग गर्ने भएको छ । पोखरा महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्पका घाइतेको उपचारका लागि औषधिसहित राहत सामग्री पठाएको छ । महानगरले भूकम्प प्रभावित क्षेत्रमा रु ५० लाखको सहयोगसमेत घोषणा गरेको छ । पोखरा महानगरपालिका–७ का वडाध्यक्ष राममोहन आचार्यको नेतृत्वमा चिकित्सकसहित १७ जनाको राहत टोली मध्यपहाडी लोकमार्ग हुँदै भूकम्प प्रभावित क्षेत्रमा गएको हो ।

नेपालस्थित संयुुक्त राज्य अमेरिकी दूतावासले भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको जनाएको छ । गैरआवासीय नेपाल संघ (एनआरएनए) का अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले पनि भूकम्पपीडितलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । महासचिव गौरिराज जोशीले एक विज्ञप्ती जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिए ।

त्यसैगरी, आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अध्यक्ष शर्माले शनिबार विज्ञप्ती जारी गर्दै एनआरएनए अभियन्ताबाट संकलन गरेर सो रकम सहयोग गर्ने बताए । उनले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि अभियन्ता चिकित्सकीय टोलीसहित खटिएको जानकारी दिए ।

यस्तै, नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकोप्टरमा प्रयोग भएको इन्धनको रकम आफैंले बेहोर्ने जनाएको छ ।

नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकोप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०/०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघले भूकम्प प्रभावितका लागि राहत सामग्री उपलब्ध गराउन सम्पूर्ण उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्माले आउँदो २ वर्षभित्र १० करोड रुपैयाँको आपतकालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरेका छन्।

भूकम्पडितलाई नेकपा एमालेको १ करोड र नेपाली कांग्रेसले ५० लाख आर्थिक सहयोगको घोषणा गरेका छन्। कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिए ।

त्यस्तै टेलिकमले भूकम्पग्रस्त जिल्लामा ४ दिन निःशुल्क सेवा दिने भएका छन् । एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख रुपैयाँबराबरको ‘भ्वाइस’ र ‘डाटा’ निःशुल्क गर्ने पनि निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

बुद्ध एयरले १ करोडको आर्थिक सहायता, नेपाल आयल निगमले उद्धारमा खटिने सबै हवाई साधनको इन्धन निःशुल्क दिने, काठमाडौं मेडिकल कलेजले घाइतेको निःशुल्क उपचार र दुर्गा प्रसाईको अभियानबाट घरबासपीडितलाई निःशुल्क आवासको घोषणा गरिएको छ। क्यानले आज हुने क्रिकेटको फाइनल खेलमा टिकटबाट उठेको रकमको आधा रकम भूकम्पपीडितलाई वितरण गर्ने घोषणा गरेको छ।

जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितलाई डोल्पाको ठूलीभेरी नगरपालिकाले नगद ५ लाखसहित स्वास्थ्य सामग्री सहयोग गरेको छ । नगरप्रमुख श्रवणकुमार बूढाले भूकम्प पीडितलाई नगद ५ लाख र स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाएको जानकारी दिए। नगरप्रमुख बुढा स्थलगत उद्धारमा समेत सहभागी भएका छन् ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले भूकम्पमा परी मृतकका परिवारलाई २५ हजारका दरले किरिया खर्च उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा मानवीय र भौतिक संरचनामा क्षति पुगेकाले दातृ निकाय, संंस्थालाई सहयोग गर्न नगरपालिकाले अपिल गरेको छ । भूकम्पपीडितको राहत तथा पुनःस्थापनाका लागि नगरपालिकामा कार्यरत शिक्षक, कर्मचारी र जनप्रतिनिधिले एक–एक महिनाको तलब नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णयसमेत गरिएको नगरप्रमुख केसीले जानकारी दिए ।

भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई २ लाख सहयोग गरेको छ । आइतबार गाउँकार्यपालिकाको निर्णयानुसार भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको हो । प्रशासकीय अधिकृत भट्टराईले भने ‘दुई जिल्लाका भूकम्पपीडितलाई १–१ लाख सहयोग गरेका छौँ,’ ‘यसले पीडितलाई केही राहत पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।’ दुई जिल्लामा भूकम्पबाट मानवीयसँगै ठूलो धनजनको क्षति भएकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधि सभा सांसद प्रदीप पौडेलले जाजरकोट भूकम्प पीडितको सहयोगका लागि सरकारी कोषमा एक महिनाको तलब दिने भएका छन्। आठबीसकोट नगरपालिकाले तत्कालका लागि मृतकका परिवारलाई २५ हजार रुपैयाँका दरले किरिया खर्च उपलब्ध गराइने भएको छ ।

भूकम्पबाट घाइते भएकाहरूको उपचारमा सहयोग पुर्‍याउन नेपाल तरूण दलले रक्तदान कार्यक्रम गर्ने भएको छ। तरूण दलले सोमबार ११ बजेदेखि काठमाडौंको भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गर्ने तय भएको केन्द्रीय सदस्य दीपेन्द्र पोख्रेलले जानकारी दिए। अध्यक्ष विद्वान गुरूङले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघले जाजरकोट भूकम्प पीडितहरूलाई ७ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने भएका छन् ।

चीनले कर्णालीको भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने भएको छ। नेपालका लागि चिनियाँ राजदूत छन संघले सामाजिक सञ्जाल एक्समार्फत् भूकम्प प्रभावित क्षेत्रमा आपतकालीन रूपमा आवश्यक पर्ने सामग्री पठाउन लागिएको जानकारी दिए।

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिम जिल्लामा एक सय ५७ जनाको निधन भएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स