बैंकहरूको पहिलो त्रैमासको नाफा पौने १५ अर्ब, १२ बैंकको घट्दा ६ बैंकको नाफामा सामान्य वृद्धि, २ बैंक उछालमा

काठमाडौं । आज राष्ट्र बैंकले दिएको समय सीमाभित्र २० वटै वाणिज्य बैंकले चालु आवको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेका छन् । चालु आवको पहिलो त्रैमासमा २० वटा वाणिज्य बैंकहरूले १४ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएका छन् । गत आवको सो अवधिमा बैंकहरूले १६ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

अर्थतन्त्रमा आएको मन्दीका कारण चालु चालु आवमा बैंकहरूले गरेका नाफा गत आवको तुलनामा एक अर्ब ७२ करोड अर्थात १०.४४ प्रतिशतले कम हो ।आवमा वाणिज्य बैंकहरूको नाफा खुम्चिएको हो । चालु आवमा १२ वटा वाणिज्य बैंकको नाफा घटेको छ भने ६ वटाको सामान्य वृद्धि भएको छ । प्रभु र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफामा भने उछाल आएको छ ।

सरकारी स्वामित्वको नेपाल बैंक र राष्ट्रिय वाणिज्य तीन वटै बैंकको नाफा नघेको छ भने कृषि विकास बैंक गत आवको यो अवधिमा जस्तै यो वर्ष पनि ऋणात्मक देखिएको छ ।

चाालु आवको पहिलो त्रैमासमा ग्लोबल आईएमई, प्राइम, एनएमबि, माछापुच्छ्रे हिमालयन, स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफामा सामान्य वृद्धि भएको छ भने नबिल बैंक, कृषि विकास बैंक, एनआईसी एशिया, सिद्धार्थ बैंकलगायतका बैंकको नाफा घटेको छ ।

चालु आवमा सबैभन्दा बढी नाफा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गरेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि १ अर्ब १४ करोडबाट बढेर १ अर्ब ५२ करोड रुपैयाँ कायम भएको छ । चालु आवमा प्रतिशता हिसाबले बढी नाफा गर्ने प्रभु बैंकको नाफा यस वर्ष बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा ७० करोड ५० लाख रुपैयाँ थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफामा उछाल देखिए पनि नबिलको नाफा घट्दा पनि बढी नाफा कमाउने दोस्रो बैंक बनेको छ । नबिलसँग प्रतिस्पर्धामा रहेका एनआईसी एशिया बैंकको नाफा घटेको छ भने ग्लोबल आईएमई बैंकको नाफा बढेपनि नबिललाई उछिन्न सकेको देखिदैन ।

गत आवमा १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको नबिल बैंकले चालु आवको पहिलो त्रैमासमा नाफा खुम्चिदा १ अर्ब ४६ करोडमा सीमित भएको छ । ग्लोबल आइएमईको नाफा एक अर्ब १८ करोडबाट बढेर एक अर्ब २२ करोड रुपैयाँ पुगेको छ । प्रभु बैंकले आफ्नो नाफा ७० करोडबाट वृद्धि गरेर एक अर्ब ३ करोड पुर्याएको छ ।

२०७९ असोज मसान्तमा जम्मा ४५ करोड नाफा कमाएको माछापुच्छ्रे बैंकले चालु आवको यो अवधिमा नाफा ५४ करोड पुर्याएको छ । एनएमबि बैंकले पनि ९० करोडबाट आफ्नो नाफालाई बढाएर ९६ करोड बनाएको छ ।

हिमालयन बैंकको नाफा पनि ५३ करोडबाट बढेर एक अर्ब ५ करोड रुपैयाँ कायम भएको छ । स्ट्याण्डर्ड चाटर्डले २०७९ असोजमा ८१ करोड रहेको नाफालाई यसपाली ८२ करोड बनाएको छ । प्राइम बैंकको नाफा भने उल्लेख्य मात्रामा सुधार हुँदै ८७ करोडबाट एक अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

कृषि विकास बैंक ऋणात्मक हुँदा लक्ष्मी सनराइजको नाफा ४० करोडले घट्यो

चालु आवको पहिलो त्रैमासमा कृषि विकास बैंकको नाफा ८८ करोड रुपैयाँले ऋणात्मक रहेको छ । अन्य ११ वटा वाणिज्य बैंकहरुको नाफामा गिरावट आएको देखिन्छ । एनआईसी एशिया बैंकको नाफा १ अर्ब ७५ करोडबाट घटेर १ अर्ब १० करोडमा सीमित भएको छ ।

सिद्धार्थ बैंकको नाफा पनि ४९ करोडबाट ४२ करोडमा झरेको छ । सानिमा बैंकको नाफा ५४ करोडबाट घटेर ४८ करोडमा सीमित भएको छ । लक्ष्मी सनराइजले चालु आवको यो अवधिमा जम्मा १० करोड मात्रै नाफा कमाएको छ । गत आवको यो अवधिमाभन्दा बैंकको नाफा ४० करोड रुपैयाँले घटेको छ । बैंकले गत आवमा ५० करोड रुपैयाँ नाफा गरेको छ ।

सरकारी स्वामित्वको अर्को वाणिज्य बैंक नेपाल बैंक पनि ठूलो मात्रामा नाफा घट्नेहरुको सूचीमा अग्रपंक्तिमै देखिन्छ । यो बैंकको नाफा ६० करोडबाट एकै पटक १४ करोडमा सीमित भएको छ ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि उल्लेख्य मात्रामा घटेको छ । २०७९ असोज मसान्तसम्मा एक अर्ब २४ करोड रुपैयाँ नाफा आर्जन गरेको बैंकले २०८० असोज मसान्तसम्ममा भने ८५ करोड रुपैयाँमै चित्त बुझाउनु परेको छ ।

सिटिजन्स बैंकको नाफा पनि ५० करोडबाट झरेर ४० करोडमा खुम्चिएको देखिन्छ । एभरेष्ट बैंकको नाफा पनि ८६ करोडबाट ७८ करोडमा झरेको छ ।

कुमारी बैंकले २०७९ असोज मसान्तमा एक अर्ब रुपैयाँ नाफा जोडेको थियो भने २०८० असोज मसान्तमा त्यस्तो नाफा २६ करोडमा सीमित भएको छ । नेपाल एसबिआई बैंकको नाफा पनि ६२ करोडबाट घटेर ४७ करोडमा खुम्चिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स