काठमाडौं । कोरोना महामारीका कारण रोकिएको दक्षिण कोरियाको रोजगारी खुलेको छ । कोरिया सरकारले तोकेको स्वास्थ्य मापदण्डलगायतका सर्त पूरा गरेपछि नेपालबाट श्रमिक लैजाने काम शुरु हुने भएको हो ।
कोरियाले लैजाने श्रमिकमध्ये पहिलो चरणमा कोरियामा बसेर फर्केकाहरू पुनः रोजगारीमा जान अनुमति प्राप्त भएको इपीएस कोरिया शाखाले जनाएको छ । शुरुमा ४ वर्ष १० महिना रोजगारी गरेर नेपाल फर्केकाहरू कोरिया जान पाउने बताइएको छ । पहिलो चरणमा ११९ श्रमिकको भिसा प्रक्रियाका लागि वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले नामावलीसमेत सार्वजनिक गरिसकेको छ ।
नामावलीमा नाम आएकाहरूमध्ये १० कात्तिकमा ५० श्रमिकको उडान गर्ने तयारी भएको इपीएस कोरिया शाखाले जनाएको छ । कोरियाले नेपालबाट श्रमिक लैजानको लागि राखेको सर्तअनुसार कोरोना बीमा, पीसीआर परीक्षण, सिधा हवाइ उडान र १४ दिन कोरियामा क्वारेन्टाइन बस्नुपर्ने सर्त राखिएको छ । सर्तअनुसार नेपालले कामदार पठाउन तयार भएपछि क्रमशः कोरिया रोजगारीमा जाने तयारीमा रहेका र अन्य श्रमिक पनि कोरिया रोजगारमा जान पाउने बताइएको छ ।
कोरोनाका कारण करिब २० महिनादेखि भाषा पास गरेका नेपाली युवाहरू रोजगारीका लागि विदेश जान पाएका थिएनन् । यो प्रक्रिया पूरा भएको खण्डमा नियमित भएसँगै रोजगारको लागि कोरिया जाने पर्खाइमा रहेका १० हजार नेपालीले जान पाउने बताइएको छ ।