बोर्डद्वारा ब्रोकर कमिशन घटाउने निर्णय

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कमिशन घटाउने निर्णय गरेको छ । बुधबार बसेको धितोपत्र बोर्डको संचालक समितिको बैठकले ब्रोकर कमिशन घटाउने निर्णय गरेको हो ।

धितोपत्र बोर्ड स्रोतका अनुसार बोर्डको निर्णय अनुमोदनका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । अर्थ मन्त्रालयबाट अनुमोदन भएपछि घटेको ब्रोकर कमिशन लागु हुने छ।

बोर्ड स्रोतका अनुसार बैठकले हाल कायम रहेको ब्रोकर कमिशनमा समग्रमा १० प्रतिशत घटाउने निर्णय गरेको छ । साथै, नेप्से र धितोपत्र बोर्डले पाउने कमिशन पनि घटाईएको छ ।

बोर्डले यसअघि २०७७ पुस १२ गतेदेखि लागू हुने गरेर ब्रोकर कमिसन ३३% देखि ६०% सम्मले घटाएको थियो । जसअनुसार लगानीकर्ताले ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४०% ब्रोकर कमिसन तिर्दै आएका छन् ।

५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको कारोबारमा ०.३७% कमिसन बुझाउनुपर्छ । ५ लाख रुपैयाँभन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४% र २० लाख भन्दा माथि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.३०% कमिसन लगानीकर्ताले तिर्दै आएका छन् ।

त्यसैगरि, १ करोड भन्दामाथि जतिसुकै कारोबारमा पनि ०.२७% ब्रोकर कमिसन लाग्दै आएको छ । सरकारी वा संस्थागत ऋणपत्रको खरीद बिक्रीमा पनि ५० हजार रुपैयाँसम्म ०.१०%, ५० लाख रुपैयाँसम्ममा ०.०५% र ५० लाख माथिको कारोबारमा ०.०२% सेवा शुल्क लिन पाइने व्यवस्था छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स