चितवन । चितवन उद्योग संघको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । सोमबार अबेर सम्पन्न अविधेशनले न्यौपानेको अध्यक्षतामा ३१ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा परमेश्वर भण्डारी, दिनुपकुमार बराल, गोपालप्रसाद गैरे, ताराबहादुर कार्की, गजेन्द्र घिमिरे, मदन घिमिरे रहेका छन् । अधिवेशनको उद्घाटन सत्रमा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले सरकारले मात्रै चाहेर उत्पादन बढाउन नसक्ने बताए । उनले भने, ‘सरकार र व्यवसायीको साझेदारीमा उत्पादन बढाउन सकिन्छ ।’ सरकार उद्योगी–व्यवसायीको व्यवसाय बढाउन र प्रवर्द्धन गर्न तयार रहेको उनको भनाइ थियो ।
उद्योग र उद्यमशीलतालाई मध्यनजर गरेर अघि बढ्नुपर्ने समय आएको उनले बताए । कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्यमन्त्री उत्तम जोशीले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसक्दा अहिलेको अवस्था आएको बताए । उनले भने, ‘देशमा राजनीति सुध्रिएमात्रै समस्या समाधान हुनसक्छ ।’
उद्योग संघ चितवनका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंह, नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, बागमती प्रदेश उद्योग परिसंघका अध्यक्ष लेखराज पोख्रेल, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले अहिलेको अवस्थामा उद्योग–व्यवसाय बन्द हुने स्थितिमा पुगेको बताए । यही अवस्था रहे व्यवसायी पलायन हुने उनीहरूको भनाइ थियो ।
रुपन्देहीमा सापकोटा
लुम्बिनी– रुपन्देही उद्योगीहरूको व्यावसायिक संस्था रुपन्देही उद्योग संघको द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार संघको कार्यसमितिमध्ये केही पदाधिकारी र सदस्यमा सोमबार दिउँसो निर्वाचन सम्पन्न भएको थियो । संघको २३औं अधिवेशनमा संयुक्त प्यानल विजयी बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।
यसैगरी निर्वाचन भएको कोषाध्यक्ष पदमा युवराज आचार्य, सचिवमा सुमन बस्याल, सहकोषध्यक्षमा विशाल बेलबासे विजयी भएको निर्वाचन समितिका प्रमुख यमलाल खनालले जानकारी दिए ।
यसैगरी दुई महिला सदस्यमा मीना थापा तुलाधर र शारदा भट्टराई विजयी भइन् । खुला सदस्यतर्फ कृष्णप्रसाद पोखरेल, नारायणप्रसाद खनाल, मोहनीलाल रिजाल, बलबहादुर गोदार, अभिषेख गुप्ता, किरण खरेल, चक्रपाणि तिवारी र अशोक कुँवर निर्वाचित भए । यसअघि नै संघको अध्यक्ष पदमा दिलीप सापकोटा, वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जीवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल सर्वसम्मत निर्वाचित भएको हो ।
यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोविन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउँपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएका निर्वाचन प्रमुख खनालले जानकारी दिए ।