काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनए आईसीसीको ११ औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष रबिना थापाले सोमवार उम्मेदवारी दर्ता गरेकी छिन् ।
उनलाई अध्यक्ष पदकै उम्मेदवारीको चर्चामा रहेका बेलायतका विनय अधिकारीले प्रस्तावक रहेर समर्थन गरेका छन् । उम्मेदवारी दर्तापछि रबिना थापाले आफूले छोटो कार्यकालमा धेरै राम्रो काम शुरुवात गरेको बताउँदै एक पूर्ण कार्यकाल काम गरेर एनआरएनएलाई नयाँ उचाईं दिन चाहेको बताइन् ।
उनले काम गरे देखाएकोले सबैको समर्थनमा आफू विजयी हुने दावी गरेकी छिन् । विदेशमा बस्ने सबै नेपालीको अवस्था एउटै नभएको वताउँदै थापाले विदेशको श्रमबजारमा दुःख पाएका नेपाली, विद्यार्थीदेखि बलियो आर्थिक र सामाजिक हैसियत वनाएका नेपालीहरुको भावनाको प्रतिनिधित्व आफूले गर्नसक्ने वताए ।
वर्तमान उपमहासचिव विनय अधिकारीले एनआरएनएलाई चरम राजनीतिक हस्तक्षेपवाट जोगाउन आफूले अध्यक्ष पदको उम्मेदवारी छोडेर रविना थापालाई समर्थन गरेको बताए ।
आपसी विवाद र गुटबन्दीले संघको छवि धुमिलिएको बताउँदै अधिकारीले सहमति, सहकार्य र एकता नै अब को आवश्यकता अेोंल्याउँदै त्यसकालागि रबिना थापा एकमात्र विकल्प रहेको दावी गरे ।
अर्का प्रस्तावकमा बिष्णु बानिया रहेका छन् । यसैगरी समर्थकमा गगन गुरुङ, अमेरिका र सुरेश कोइराला अमेरिका रहेका छन् ।
रबिनाले ६ महिना कार्यकारी अध्यक्ष रहँदा घुम्ती रक्तसञ्चार बस (मोबाइल ब्लड बस ) को शुरुवात भएको थियो। हाल २ प्रदेशमा हस्तान्तरणको चरणमा छ ।
यसैगरी पोखरामा स्मार्ट शौचालय निर्माण भएको थियो । सेन्सर जडित स्मार्ट शौचालय अपाङ्गमैत्री छ । छुट्टै स्तनपान कक्ष रहेको यस शौचालयमा महिलाकालागि सेनेटरी प्याड भ्यान्डिङ मेसिन जडान गरिएको छ । शौचालयको मलमुत्रवाट बायोग्यास निकाल्ने गरि बायोडाइजेष्टर जडान गरिएको छ ।
अध्यक्ष थापाले केही दिन अघि पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई उक्त स्मार्ट शौचालयको साँचो हस्तान्तरण गर्नुभएको हो। यसैगरी उदयपुरको गाईघाटमा ४ वटा र कंचनपुरमा १ वटा सफा शौचालय हस्तान्तरण भएको छ।
विदेशमा रहेका नेपालीलाई नेपाली नागरिकताको लागि उनको नेतृत्वमा पहल भएको थियो। त्यतिवेला संसदमा प्रवेश पाएको विधेयक पारित भई हाल नेपाल सरकारले गैर आवासीय नेपाली नागिकता सम्वन्धि प्रावधान राजपत्रमै प्रकाशित गरि लागू गरीसकेको छ ।
रविना कार्यकारी अध्यक्ष रहेकै वेला नेपाली खेलकुदको इतिहासमा पहिलो पटक पोखरामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा एनआरएनए टिम सहभागी भई खेलाडीहरुले पदक समेत जितेका थिए।