प्रिमियममा सेयर निष्काशन गर्न दिएर हमालसहित ४ जनाले भ्रष्टाचार गरेको आरोप, दिए अख्तियारमा उजुरी

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षसहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । १६ जना सेयर लगानीकर्ताहरुले सामूहिक रुपमा आज बिहान अख्तियार पुगेर उजुरी दर्ता गराएका हुन् ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ तथा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलले कानुन विपरित बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिएर अख्तियार दुरुपयोग गरेको उजुरीमा उल्लेख छ।

उजुरीमा बीमा कम्पनीहरुलाई प्रिमियम मूल्यमा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको उल्लेख छ । उनीहरुले चारै जनालाई प्रचलित कानुनबमोजिम हदैसम्म कारबाही गर्न माग गरेका छन् ।

‘बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत अख्तियारको दुरुपयोग गरी बीमा कम्पनीहरुलाई प्रिमियममा साधारण सेयर जारी गर्न दिएर भ्रष्टाचार गरेको हुँदा छानबिन गरी संलग्न दोषीउपर प्रचलित कानुनबमोजिम हदैसम्म कारबाही गरी पाउन यो उजुरी दिएका छौं’ उजुरीमा भनिएको छ ।

बीमा ऐन २०७९ को दफा ४५ को उपदफा ५ मा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि बीमकले सर्वसाधारणबाट सेयर खरिदका लागि दरखास्त आह्वान गर्दा सेयरको अंकित मूल्यको शतप्रतिशत रकम माग गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

उजुरीमा बोर्डका अध्यक्ष हमाल, कार्यकारी निर्देशक श्रेष्ठ, प्राधिकरणका अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक पौडेललगायत ऐन २०७९ को दफा ४५ को उपदफा ५ को प्रतिबन्धात्मक व्यवस्थाविपरीत अख्तियारको दुरुपयोग गरी सिटिजन लाइफ, सन नेपाल लाइफ, आईएमई लाइफ र रिलायबल लाइफसहित चारवटा बीमा कम्पनीलाई अंकित मूल्यभन्दा बढी रकम सर्वसाधारणबाट माग गर्न दिने गरी आह्वान पत्र स्वीकृत गरी कानुनविपरीतको कार्य र अख्तियार दुरुपयोग गरेको उल्लेख छ ।

उनीहरुले हिमालयन रि-इन्स्योरेन्सलाई अंकित मूल्यभन्दा बढी सर्वसाधारणबाट रकम माग गर्ने गरी आह्वान पत्र स्वीकृत गर्ने अन्तिम तयारी गरेकाले यसअघि भए गरेका गैरकानुनी कार्यहरु बदर गराउन, हुन लागेका गैरकानुनी कार्य रोकिपाउन र जो/जो संलग्न छन्, दोषीउपर प्रचलित कानुनअनुसार हदैसम्म कडा कारबाही गर्न माग गरेको छ ।

बोर्डबाट लगानीकर्ताको हित प्रतिकूल र अपारदर्शी रुपमा मनलाग्दी प्रिमियम राखेर साधारण सेयरको प्रिमियम मूल्य निर्धारण गरी घोराही सिमेन्टलगायतका प्रकरणमा नीतिगत भ्रष्टाचारसमेत भइरहेकाले त्यसको छानबिन गर्न, आईपीओको सम्पूणर् प्रक्रियालाई तत्काल स्थगित गरी धितोपत्र बोर्डले २०७७ सालमा जारी गरेको बुक बिल्डिड कार्यविधिअनुरुप मात्र जारी गराउने गरी तत्कालका लागि सम्पूणर् प्रक्रिया रोक्न लगाउन माग गरेको छ ।

प्रिमिमियमा सेयर निष्कासन गरेका बीमा कम्पनीहरुलाई सञ्चालन स्वीकृति (लाइसेन्स) दिँदाको प्रावधान र आईपीओ स्वीकृति दिँदा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक, प्रत्याभूतकर्ता, रेटिड, एजेन्सी, बीमा प्राधिकरण र धितोपत्र बोर्डबाट भएका सम्पूर्ण निर्णय, कागजपत्र, पत्राचारहरुको छानबिन गर्न माग गरिएको छ ।

लगानीकर्ता तिलक कोइरालाको नेतृत्वमा बिहीबार अनामनगरमा लगानीकर्ताहरुको भेला भएको थियो । उक्त भेलाले प्रचलित ऐन विपरित प्रिमियममा आईपीओ जारी गर्न अनुमति दिएको भन्दै त्यस विरुद्द अख्तियार र अदालत जाने निर्णय गरेका थिए । सोहि अनुसार आज अख्तियारमा उजुरी दिईएको र यसपछि अदालत पनि जाने कोइरालाले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स