ढोरपाटन (बागलुङ) । केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो समय यहाँका होटल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै गएको होटल व्यवसायी बताउँछन् ।
पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै गए पनि बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका किसानले मात्रै व्यावसायिक रुपमा उत्पादन गर्ने गरेका छन् ।
रैथाने जातको कोदोको माग बढेपछि केही किसानले व्यावसायिक कोदो उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा उत्पादनका लागि उपयुक्त हावापानी भए पनि कम मात्रामा खेती हुने गरेको छ । जंकफुड र आयातित खाद्यान्नमा निर्भर हुँदा किसानले कोदो खेतीलाई व्यावसायिक बनाउन सकेका छैनन् ।
पछिल्लो केही वर्षयता बागलुङ बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले बताए । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उनको भनाइ थियो । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको अध्यक्ष राजभण्डारीले बताए । बजारमा सहज रुपमा कोदोको पीठो पाउन गाह्रो हुने उनको भनाइ थियो ।
‘पहिले कोदोको ढिँडोको माग खासै आउँदैनथ्यो, अहिले होटलमा आउने धेरै पाहुनाको रोजाइ ढिँडो हुन्छ । विशेषगरी स्थानीय उत्पादनबाट बनेका परिकारको माग बढ्दो छ । अहिले धेरै मानिसमा अग्र्यानिक खाना खानुपर्छ भन्ने सोच बढेको छ,’अध्यक्ष राजभण्डारीले भने, ‘कोदोको खेती कम भएर होला, भनेको समयमा पीठो पाउन सकिँदैन । कहिले गाउँबाट ल्याउँछौं । कहिले यहीँ अग्र्यानिक सामान बेच्ने पसलबाट ल्याउँछौं । स्थानीय उत्पादनको महत्व मान्छेहरुले बुझ्दै गएका छन् ।
स्थानीय किसान तिलबहादुर क्षेत्रीले पहिले कोदोका खाना घरबाहिर बसेर खाँदा पनि लजाउनुपर्ने स्थिति रहेको भन्दै अहिले धेरै मान्छेले ढिँडो मन पराउन थालेको बताए । आफूले वार्षिक सात मुरी कोदो उत्पादन गर्दै आएको जनाउँदै अहिले माग बढेकाले खेती गर्ने क्षेत्रफल पनि बढाएको उनले बताए । बजारबाट कोदोको पीठो किन्ने व्यापारी गाउँमै आउने गरेको भन्दै आम्दानी पनि राम्रो हुँदै गएको क्षेत्रीले बताए । उनले अघिल्लो वर्ष झन्डैै ५० हजारको कोदो बिक्री गरेको सुनाए ।
‘हामी सानो हुँदा कोदोको ढिँडो, रोटी खाँदैनथे । कोहीकोहीले खाए पनि लुकाएर खान्थे । यस्तो राम्रो अन्न त्यतिबेला चिन्न सकिएन, अहिले यस्तो माग बढी छ । गाउँमा त कमैले खान्छन् ढिँडो, कोदो बिक्री बढी हुने बजारमै हो,’ क्षेत्रीले भने, ‘पहिला घरमा कोही पाहुना आउँदा चामल खोजेरै भए पनि भात खुवाउनु पर्छ भन्ने चलन थियो । अहिले त आउने पाहुनाले नै ढिँडो खाउँ भन्छन् । कोदो स्वास्थ्यका लागि फाइदाजनक भएकाले नै ढिँडोको माग बढेको हो ।’
जिल्लाभर १८ हजार चार सय ५६ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको कृषि ज्ञान केन्द्र बागलुङले जनाएको छ । हरेक वर्ष २३ हजार चार सय ५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेको केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिए । उनका अनुसार अहिले यहाँका किसानले रैथाने रुपमा कोदो खेती गर्दै आएका छन् । पछिल्लो समय जनमानसमा कोदोको महत्व बढ्दै गएपछि किसनाहरु उत्पादनका लागि उत्साहित भएका उनले बताए ।
कृषि ज्ञान केन्द्रले कृषकलाई रैथाने जातका कोदो लगायतका खाद्यबाली लगाउनका लागि प्रेरित गर्दै विभिन्न कार्यक्रम गरिरहेको पुन मगरले बताए । ‘बागलुङमा कोदो खेती गर्नका लागि पर्याप्त जमिन छ । किसानलाई कोदो खेतीतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छौं’, उनले भने, ‘उहाँहरुले कोदोको पीठो ब्रान्डिङ, प्याकेजिङ गर्न, परिकार बनाउनका लागि आवश्यक तालिम र परामर्श दिने गरेका छौं । केही गाउँमा व्यावसायिक रुपमा लागेर कोदोको परिकार बनाइरहेका छन् । उत्पादन गर्ने क्षेत्र बढाउनका लागि किसानलाई प्रेरित गरिरहेका छौं ।’
यस वर्ष किसानले लगाएको कोदोमा खैरो थोप्ले र मरुवा रोग लागेकाले उत्पादनमा ह्रास आउने देखिएको पुन मगरले बताए । दुईवटा रोगको सङ्क्रमणका कारण कोदोको डाँठ कुहिएर बाला लाग्न नपाएको उनको भनाइ थियो ।