नेपाल टेलिकमको उत्तर पश्चिमको अन्तिम बस्ती तिकंरमा मोबाइल सेवा सञ्चालनमा

काठमाडौं । नेपाल टेलिकमले नेपालको उत्तर पश्चिमको अन्तिम बस्ती तिकंरमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

गत असोज १६ गतेदेखि मोबाइल सेवा सञ्चालनमा आएपछि अब सो क्षेत्रका जनताले सहज रुपमा आफ्नै मोबाइलमार्फत फोन गर्न पाउने छन् ।

चीनको सिमानासँग जोडिएको दार्चुला जिल्लाको व्यास गाउँपालिका-१ मा अवस्थित उत्तर पश्चिमी नाका तिकंरमा नेपाल टेलिकमले भीस्याट प्रविधिमार्फत टूजी प्रविधिको सेवा सञ्चालनमा ल्याएको हो ।

कम्पनीले यसका लागि आवश्यक सामग्री कैलालीको अत्तरिया र दार्चुलाको छाङरुबाट तिकंर पुर्‍याएको थियो ।

पहिले सो क्षेत्रमा भीस्याट प्रविधिका दुई लाइन टेलिफोन सञ्चालनमा थिए । अब भने तिकंर क्षेत्रमा रहेका करिब ५०० सेवाग्राहीले आफ्नै मोबाइलबाट कुराकानी गर्न सक्ने छन् ।

यो बाहेक सो क्षेत्रमा अवस्थित सशस्त्र प्रहरी बल र इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी तथा सो क्षेत्रमा आउने पर्यटकहरु समेत यसबाट लाभान्वित हुनेछन् ।

करिब ३ हजार ७०० मिटरको उचाईमा अवस्थित तिकंर भारतसहितको त्रिदेशीय सिमाना जोडिएको स्थान छाङरुबाट करिब १२ किलोमिटर र सदरमुकाम खलंगाबाट करिब ८० किलोमिटर दुरीमा अवस्थित छ ।

त्यहाँबाट करिब ८ किलोमिटर हिँडेपछि चीनको सिमानास्थित १ नम्बर पिलर पुग्न सकिन्छ ।

कम्पनीले प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै जाने क्रममा तिकंरमा सेवा सुचारु गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स