काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको हो ।
सरकारको निर्देशनपछि निगमले विज्ञप्ति निकालेर पुरानै मूल्य निर्धारण गर्ने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।
निगमले शनिबार राती १२ बजेदेखि लागू हुने गरि डिजेल, पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको थियो ।
निगमले पेट्रोलमा प्रतिलिटर २, डिजेल/मट्टितेलमा प्रतिलिटर ६ रुपैयाले मूल्य वृद्धि गरेको छ । खाना पकाउने एलपि ग्यासको मूल्य पनि प्रति सिलिन्डर २ सय १५ रुपैयाँ बढाएको थियो ।
योसँगै, अब पेट्रोलियम पदार्थको मूल्य पुरानै कायम भएको छ । यस अघि पेट्रोलको मूल्य प्रतिलिटर १८३ र डिजेलको १७३ रुपैयाँ थियो । मूल्यवृद्धि फिर्तापछि ग्याँसको मूल्य पनि १ हजार ८९५ रुपैयाँ नै कायम भएको छ ।
चाडबाडको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै सरकारको चौतर्फी आलोचना भएको थियो । यता सरकारको राजनैतिक नेतृत्वसँग परामर्श नगरिकन पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निगमसँग रुष्ट बनेका थिए ।
उनले आजै मन्त्रिपरिषद् आकस्मिक बैठक बोलाएर तत्कालका लागि पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्न आयल निगमलाई निर्दशन दिएको हो।