काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए आईसीसी) को आसन्न ११ अेों महाधिवेशनका लागि अध्यक्ष पदमा रविना थापाले उम्मेदवारी घोषणा गरेकी छिन्।
बिहीबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरि थापाले उक्त घोषणा गरेको हो। रविना थापा हाल एनआरएनए आईसीसीको अध्यक्ष छिन् । १० औं महाधिवेशनमा निर्वाचन हुन नसकेपछि अध्यक्ष पदका तिनै जना उम्मेदवारले अध्यक्षको रुपमा काम गर्ने सहमति भएको थियो।
पत्रकार सम्मेलनमा बोल्दै रविनाले ‘एनआरएनए ग्लोबल फण्ड’ को महत्वाकांक्षी कार्यक्रम घोषणा गरेकी छिन्। ‘म नेतृत्वमा पुगे लगत्तै एनआरएनए ग्लोबल फण्ड स्थापना गरिनेछ’ । थापाले भनिन्, ‘जुन नेपाल र नेपालीको समृद्धि कोलागि सारथी मात्र होइन , संकट पर्दाको संजीवनी समेत हुनेछ।’ एनआरएनएको प्रत्येक सदस्यले गर्व महसुस गर्ने यो कोष गैर आवासीय नेपाली संघको सबैभन्दा ठूलो कोष हुने उनले बताइन् ।
एनआरएनएको इतिहासमा पहिलो पटक अध्यक्ष महिलाको रुपमा छोटो अवधि काम गरेको आधारमा निर्वाचित भएर १ कार्यकाल काम गर्न चाहेको उनको भनाई छ ।
‘मैले ६ महिना कार्यकारी अध्यक्षको रुपमा काम गर्दा उल्लेखनीय काम गरेको छुँ’ । थापाले भनिन्, ‘१ कार्यकाल पूर्ण अवधि काम गर्न पाएमा संघलाई जिवन्त र गतिशील ढंगले अघि बढाउने र विदेशमा वस्ने प्रत्येक नेपालीले अपनत्व महसुस हुने वातावरण बनाईनेछ।’
आफ्नो कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धि भएको ,गैर आवासीय नेपाली नागरिकतालागि संसद र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको , नवौं राष्ट्रिय खेलकुदमा पहिलोपटक एनआरएनएको टिम सहभागी भई पदक समेत जितेको, संघको काठमाडौं स्थित कार्यालयको पूर्वाधार विकास, (लिफ्ट देखि घेरापर्खालसम्म) , अपांग मैत्री बनाएको, पोखरामा स्मार्ट शौचालय निर्माण शुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस शुरु गरिएको (३ प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा) विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने हटलाइन सेवा शुरु गरिएको, संघको विधान पहिलोपटक सर्वसम्मतले पास गराएको, पदाधिकारी मै युवा र महिलाको प्रतिनिधित्व विधानमा सुनिश्चित भएको जस्ता कार्यविवरण सुनाउँदै थापाले सवै भन्दैजाँदा ठूलो फेहरिस्त हुने बताइन्।
गैर आवासीय नेपाली संघको अवको नेतृत्व समझदारी , सहकार्य र एकताको पक्षपाती हुनुपर्ने आवश्यकतामा जोड दिंदै थापाले यो संयोजनकारी भूमिकामा आफू नै उपयुक्त र सक्षम रहेको दावी गरिन्।
निर्वाचनलाई भड्किलो बनाउन नहुनेमा जोड दिंदै आफू महाधिवेशन प्रतिनिधिले मात्र होइन, एनआरएनएका प्रत्येक पंजिकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको कुरा दोहोर्याइन्।