काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विभिन्न ठाउँका सडकहरु अवरुद्ध हुने भएको छ । इन्द्रजात्राका अवसरमा काठमाडौंका विभिन्न ठाउँको यातायात आवागमन प्रभावित हुने भएको हो ।
काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै काठमाडौंको वसन्तपुर केन्द्रित सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक महत्वको इन्द्रजात्राका क्रियाकलापहरु सुरु भएकाले विभिन्न क्षेत्रमा सवारीसाधनको प्रवेश बन्द गरिएको जनाएको छ ।
असोज ११ गते बसन्तपुर, मरु, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरुहुँदै बसन्तपुरसम्म रथयात्रा हुने हुँदा ती क्षेत्रमा यातायात आवागमन प्रभावित हुने महानगरले जनाएको छ।
यसैगरी असोज १२ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, टेंगल, न्ह्योखा, न्हेकतला, असन, मच्छिन्द्रबहाल, इन्द्रचोक, मखन, हनुमानढोका हुँदै बसन्तपुरसम्म रथयात्रा हुने भएकोले वैकल्पिक मार्ग प्रयोग गर्न महानगरले आग्रह गरेको छ।
त्यस्तै असोज १५ गते वसन्तपुर, प्याफल, यट्खा, नरदेवी, किलाघ भेडासिं, इन्द्रचोक, मखन हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेछ। यस दिन महिलाले रथ तान्ने महानगरपालिकाले जनाएको छ।