किन गरिन्छ नवरात्रको नवौं दिन सिद्धिदात्री देवीको पूजा आराधना ?

काठमाडौं । नवरात्रको नवौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौं देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिंदै छ ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा पक्षको नवौं दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक परम्परा छ । नवदुर्गा गणकी एउटी देवीको नाम सिद्धिदात्री पनि हो । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौं देवी हुन् ।

देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा सङ्कटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ । नवरात्रको पहिलो दिन असोज २१ गते बिहीबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

दोस्रो दिन शुक्रबार पूजास्थलमा ब्रह्मचारिणी, तेस्रो दिन शनिबार चन्द्रघण्टा, चौथो दिन आइतबार कुष्माण्डा, पाँचौँ दिन सोमबार स्कन्दमाता र कात्यायनी देवीको पूजा आराधना गरिएको थियो । यस वर्ष षष्ठी तिथि टुटेकाले स्कन्दमाता र कात्यायनी दुवै देवीको एकै दिन पूजा आराधना गनुपर्ने अवस्था आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

यसैगरी सातौं दिन मङ्गलबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्नाका साथै दसैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो । आठौं दिन बुधबार महागौरी देवीको पूजा आराधना गरिएको थियो भने नवरात्रको नवौं एवं अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा आराधना गरिंदै छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् ।

दुर्गा पक्षसमेत भनिने दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी, र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । नवरात्रको सातौं दिनपछि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा त्यसै दिनदेखि भीड बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स