भारतीय राजदूतद्वारा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लाको भ्रमण गरी ३ वटा शैक्षिक परियोजनाको उद्घाटन

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्ताले भाद्र ३१ र आश्विन १ गते सुदूरपश्चिम प्रदेशका कञ्चनपुर र कैलाली जिल्लाको भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा राजदूत श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगार्थ कूल नेरु ९.०८ करोडको लागतमा निर्मित एक क्याम्पस भवन र दुई वटा विद्यालय भवन गरी तीन वटा सामुदायिक विकास परियोजनाको उद्घाटन गरी सो परियोजना सम्बन्धित जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

उद्घाटन भएका तीन परियोजना यस प्रकार रहेका छन्ः १. टिकापुर बहुमुखी क्याम्पस (नेरु. ३.५२ करोड) टिकापुर नगरपालिका, कैलाली २. श्री पशुपति शिक्षा मन्दिर (नेरु.२.६४ करोड) बेलौरी नगरपालिका र ३. श्री शिद्धनाथ माध्यमिक विद्यालय (नेरु. २.९२ करोड) भिमदत्त नगरपालिका, कञ्चनपुर । सो उद्घाटन समारोहमा कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न राजनीतिक दलका नेता, समाजसेवी, नेपाल सरकारका पदाधिकारी, क्याम्पस र विद्यालयका प्रतिनिधि र स्थानीय समुदायको उपस्थिति थियो ।

यी शैक्षिक संस्थामा कैलाली र कञ्चनपुर जिल्लाका करिब २५०० जना विद्यार्थी अध्ययनरत छन् । नेपाल–भारत विकास सहकार्य कार्यक्रम अन्तर्गत उच्च प्रभाव समुदायिक विकास परियोजनाको रुपमा निर्माण भएका यी परियोजनाले त्यस क्षेत्रका युवाको हितका लागि शैक्षिक पूर्वाधारको विकासमा टेवा पुर्याउनेछ । कैलाली र कञ्चनपुरका जिल्ला समन्वय समितिले उक्त परियोजनाको कार्यान्वयन गरेको हो ।

भ्रमणका क्रममा राजदूत श्रीवास्तवले कञ्चनपुरका माननीय सांसद श्री रमेश लेखक र स्थानीय सरकारका पदाधिकारीसँग दोधारा चाँदनीस्थित एकीकृत जाँच चौकी परियोजनास्थलको पनि भ्रमण गरे । नेपालका सम्माननीय प्रधानमन्त्रीको गत जुनमा भएको भारत भ्रमणका क्रममा भारत सरकारको अनुदान सहयोगमा उक्त जाँच चौकीको निर्माण हेतु एक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । उक्त एकीकृत जाँच चौकीको निर्माणले भारत र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउनुका साथै सुदूरपश्चिम प्रदेशलाई यो परियोजनाले विशेष लाभान्वित तुल्याउनेछ ।

राजदूत श्रीवास्तवले नेपाल–भारत मैत्री संघ र स्थानीय वाणिज्य संघका प्रतिनिधिहरुसँग भेटवार्ता गरे । भेटका क्रममा राजदूतले मैत्री संघ र वाणिज्य संघले भारत र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई प्रवर्धनका लागि गरेको योगदानको प्रशंसा गरे । साथै उनले जनता–जनाताबीचको सम्बन्ध र आर्थिक सम्पर्कमार्फत दुई देशबीचको मैत्री सम्बन्धलाई थप बलियो बनाउने उपायबारे पनि छलफल गरे । भारत र नेपालबीच बलियो विकास साझेदारी रहेको उल्लेख गर्दै उनले नेपाल सरकारले तय गरेका प्राथमिकता अनुरुप र दुवै देशका जनताको हितका निमित्त यो साझेदारीलाई अझ मजबुत बनाउन भारत सरकार सधैं प्रतिबद्ध रहेको बताए ।

सन् २००३ यता भारतले नेपालमा विभिन्न क्षेत्रमा ५४६ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेकोमा ४८३ वटा सम्पन्न भइसकेका छन् । ती मध्ये कैलाली जिल्लाका ८ र कञ्चनपुर जिल्लाका १० गरी सुदूरपश्चिम प्रदेशमा ४० वटा रहेका छन् । यसका अतिरिक्त भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा विद्यालयलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुलबस उपहार स्वरुप प्रदान गरिसकेको छ । भारतले हालसम्म कैलाली जिल्लालाई १० वटा एम्बुलेन्स र १० वटा स्कुलबस र कञ्चनपुर जिल्लालाई १४ वटा एम्बुलेन्स र २ वटा स्कुलबस उपलब्ध गराइसकेको छ ।

यी परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुको साथै यसले शिक्षा पूर्वाधारको विकासमा नेपाल सरकारले गरेका प्रयासमा थप बल प्रदान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स