असोज १ गतेबाट हालसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुग्यो

काठमाडौं । यो महिनामा झण्डै नौ लाख नागरिकले काठमाडौं उपत्यका छाडेका छन् । दशैं, तिहार, छठलगायतका पर्वमा घर जानेको सङ्ख्या दैनिक बढिरहेको छ ।

असोज महिनाको १ गतेबाट अहिलेसम्म उपत्यका छाड्नेको सङ्ख्या नौ लाख पुगेको र अझै बढ्ने देखिएको यातायात व्यवसायीले बताएका छन् । यो वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्का महासचिव सरोज सिटौलाले बताए ।

उनका अनुसार दशैंको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनले भने, ‘दुईतीन दिनमा उपत्यका छाड्नेको सङ्ख्या अझै बढ्नेछ ।’

दुईवर्ष पहिलेसम्म २५ लाखभन्दा बढीले दशैंको समयमा उपत्यका छाड्ने गरेका थिए । गतवर्ष कोभिड– सङ्क्रमणको जोखिम रहेकाले त्यो सङ्ख्या ह्वात्तै घटेको थियो । झण्डै चारपाँच लाखले मात्रै गतवर्ष उपत्यका छाडेको अनुमान गरिएको थियो । यो वर्ष गत वर्षभन्दा बढी यात्रु भए पनि सामान्य अवस्था भन्दा धेरै कम छन् ।

सरकारले घटस्थापना (असोज २१) देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ । यातायात व्यवसायीले सोही दिनदेखि अग्रिम टिकट खुलाएको थियो । यात्रुलाई समस्या नहोस् भनी ठाउँठाउँमा विभिन्न स्थानमा सहायता कक्ष रहेका छन् ।

घटस्थापनाको केही दिनसम्म पनि कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ । यतिबेला यात्रु एकोहोरो जाने मात्रै धेरै रहेको महासचिव सिटौलाले बताए ।

विजया दशमीको दिनदेखि भने काठमाडौं उपत्यका फर्कनेको सङ्ख्या धेरै हुनेछ ।

दशैंको समयमा सडकमा सवारीसाधनको चाप ह्वात्तै बढ्ने भए पनि यो वर्ष देशभरका धेरै सडक बिग्रिएका थिए । केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत सुरु गर्न नसकिएको सडक विभागले जनाएको थियो । एक सातायता भने तीव्र रुपमा मर्मत भइरहेको छ ।

दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म नै फर्किनेको चाप भएकाले सडक तयारी अवस्थामा हुनुपर्ने उनले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स