काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले बेरुजु सम्परीक्षण गर्न ९ वटा उपसमिति गठन गरेको छ । विभिन्न मन्त्रालय, संवैधानिक आयोग र अन्य सरकारी निकायको बेरुजु सम्परीक्षण गर्न समितिको आइतबारको बैठकले निर्णय गरेको हो ।
लेखा समितिका सभापति ऋषिकेश पोखरेलको प्रस्तावमा केही हेरफेरसहित उपसमिति गठन र तिनका संयोजकको नाम पारित गरेको छ । उक्त उपसमिति मध्ये कांग्रेसलाई ३, एमालेलाई २ र माओवादी केन्द्र, रास्वपा, राप्रपा र जसपालाई १/१ उपसमिति परेको छ । कांग्रेसबाट उपसमिति संयोजकमा अर्जुननरसिंह केसी, राजेन्द्रकुमार केसी र रामकृष्ण यादव रहेका छन् । एमालेबाट गोकुलप्रसाद बाँस्कोटा र दामोदर भण्डारी उपसमिति संयोजक रहेका छन् । माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट मनिष झा, राप्रपाबाट राजेन्द्र लिङ्देन र जसपाबाट प्रदीप यादव उपसमितिका संयोजक बनेका छन् ।
उपसमितिले महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा देखिएका बेरुजुको सम्परीक्षण गरेर असुल उपर गर्ने विषयमा अध्ययन गर्नेछन् । समिति सभापति पोखरेलले ९ वटै उपसमितिहरूले छिट्टै बैठक बसेर आ–आफ्ना कामको सुरुआत गर्ने बताए ।