विवाद ढुंगा हानाहान र झडपमा परिणत भएपछि मलंगवामा कर्फ्यु जारी

मलंगवा (सर्लाही) । सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए ।

शुक्रबार साँझ मलंगवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा दुई पक्षबीच विवाद भएको थियो । विवाद ढुंगा हानाहान र झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ढुंगा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका छन् ।

आज दिउँसो फेरि दुवै पक्षबीच ढुंगा हानाहान हुनथालेपछि स्थिति नियन्त्रण लिन प्रहरीले १२ सेल आश्रुग्यास प्रहार गरेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

स्थानीय प्रशासनले थप सुरक्षा बढाउँदै आज जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा सर्वदलीय, सर्वपक्षीय भेला बोलाएर धार्मिक सद्भाव कायम राख्न अपिल गरेको थियो । तर शनिबार बिहानैदेखि सदरमुकाम मलंगवामा टायर बालेर प्रदर्शन र ढुंगामुढा हुनथालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकीरबाबा पेट्रोलपम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

घटनास्थलमा अहिले उल्लेख्य सङ्ख्यामा सुरक्षाकर्मीको तैनाथ गरिएको छ । प्रदर्शन र ढुंगामुढाका कारण आज बिहानैदेखि मलंगवा बजार क्षेत्रको पसल बन्द छन् । आज बिहानैदेखि यहाँबाट चल्ने साना तथा लामो दूरीका यातायातका साधन चल्न सकेको छैन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स