काठमाडौं । इन्स्पायर नोबल फाउन्डेसनले एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा छक्का प्रहार गरेका दुई नेपाली खेलाडीलाई आज दुई लाख प्रदान गरेको छ ।
एसिया कप–२०२३ अन्तर्गत भारतविरुद्धको खेलअघि फाउन्डेसनले छक्का प्रहार गर्ने प्रति खेलाडीलाई एक लाख प्रदान गर्ने घोषणा गरेको थियो । जसअनुसार खेलकुद पत्रकार मञ्चको रोहबरमा आज यहाँ आयोजित कार्यक्रममा भारतविरुद्ध छक्का प्रहार गरेका नेपालका कुशल भुर्तेल र सोमपाल कामीलाई जनही एक लाख प्रदान गरिएको हो ।
भारतविरुद्धको खेलमा कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए । कुशल र सोमपाललाई फाउन्डेसनको तर्फबाट सुशील रेग्मीले चेक हस्तान्तरण गरे । फाउन्डेसनले भारतविरुद्ध छक्का प्रहार गर्ने तथा विकेट लिने प्रत्येक खेलाडीलाई नगदबाट पुरस्कृत गर्ने घोषणा गरेको थियो ।
इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिएका थिए ।