सहकारीको ऋण समयमै चुक्ता गर्न दक्षिणकाली नगरपालिकाको सार्वजनिक आह्वान

काठमाडौं । दक्षिणकाली नगरपालिकाले सहकारी संस्थाका ऋणी सेयर सदस्यलाई समयमै ऋण चुक्ता गर्न सार्वजनिक आह्वान गरेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सहकारी संस्थाबाट ऋण लिई तोकिएको समयभित्र साँवा ब्याज चुक्ता नगर्ने सदस्यलाई समयमै तिर्न आह्वान गरेको हो । सहकारी संस्थाले पटकपटक पत्राचार गर्दा पनि साँवा, ब्याज नतिर्दा बचतकर्ता सेयर सदस्यको रकम फिर्ता गर्न असहज भएको नगरपालिकाले जनाएको छ ।

सदस्यले वचत गरेको रकमबाट नै अरु सदस्यलाई कर्जा प्रवाह गरिने हुँदा ऋणी सदस्यले आफूले लिएको साँवा, ब्याज सममयमै नबुझाउँदा सहकारी संस्थामा स्वाभाविकरुपमा समस्या आएको सूचनामा उल्लेख गरिएको छ । केही व्यक्तिबाट सहकारीको ऋण नतिरे पनि हुन्छ भन्नेजस्ता गैरजिम्मेवार अभिव्यक्ति सार्वजनिक भएको सुनिएकाले पनि नगरपालिकाले सार्वजनिकरुपमा आह्वान गरेको जनाइएको छ । ऋण नतिर्ने कुरालाई ऋणीहरूलाई नै प्रत्युत्पादक हुन आउने सूचनामा उल्लेख गरिएको छ । ऋण लिएपछि तिर्नुपर्दैन भन्ने कुरा नेपालको प्रचलित ऐन कानुनविपरीत भएकोतर्फ पनि नगरपालिकाले सम्बन्धित सबैको ध्यानाकर्षण गराएको छ ।

नगरपालिका सहकारी ऐन, २०७५ को दफा ५८ मा ऋण असुलसम्बन्धी गर्ने व्यवस्था छ । दफा ६१ मा कसैले संस्थालाई तिर्नु बुझाउनुपर्ने रकम नतिरी बाँकी राखेमा त्यस्तो रकम र सोको ब्याजसमेत दर्ता गर्ने अधिकारीले ऋणीको जायजेथाबाट असुल उपर गरिदिन सक्ने व्यवस्था ऐनमा भएको पनि प्रमुख प्रशासकीय अधिकृत खनालले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

ऐनका दफा ६२ मा दर्ता गर्ने अधिकारीले दफा ५८ र ६१ को प्रयोजनको लागि कुनै व्यक्तिको खाता, जायजेथाको स्वामित्व हस्तान्तरण, नामसारी वा बिक्री गर्न नपाउने गरी रोक्का राख्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने गरी व्यवस्था गरेको छ ।

ऋणीले सहकारी संस्थामा जेजस्तो सम्झौता, शर्त वा कबुलियत गरी ऋण लिएको हो सोही बमोजिम समयमै आफूले लिएको ऋणको साँवा, ब्याज रकम दाखिला गरी सहकारीमा देखिएको समस्या समाधानको लागि सहयोग गर्न नगर क्षेत्रका सबै सहकारीका ऋणीलाई नगरपालिकाले आह्वान गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स