बागलुङ । हो, दशैंमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ । बजारमा रोज्जा च्याङ्ग्रालाई ४० हजार पर्छ । पसलबाट मासु किनेर खाँदा प्रतिकिलो दुई हजार ।
अब आफैं भन्नुस्, आम मान्छेले कसरी खान सक्छन्, च्याङ्ग्राको मासु । यो त केबल हुनेखानेको भान्सामा मात्र पो पाक्ने भयो । के गरिब र श्रमजीवीले दशैंमा मिठोमसिनो खान नपाउनु १ यो प्रश्नले हर कोहीलाई बिझाएको हुनुपर्छ ।
हिमालपारिबाट भित्रने च्याङ्ग्राको भाउ बर्सेनि बढेकै हुन्छ । पछिल्ला चार वर्षमा च्याङ्ग्राको मूल्य दोब्बरले महँगिएको व्यापारी बताउँछन् । कोभिड–१९ का कारण तिब्बतबाट च्याङ्ग्रा कम आउनु, बढ्दो करजस्ता कारणले मूल्य आकासिँदै गएको हो ।
व्यापारी महेन्द्र केसीले मुस्ताङको जोमसोम पुगेर दशैंलाई च्याङ्ग्रा ल्याएको बताए । भाउ महँगिएका कारण पहिले झैँ धेरै च्याङ्ग्रा नल्याएको उनले सुनाए । सदरमुकाममा मासु पसलसमेत चलाउँदै आएका केसीले एककिलो च्याङ्ग्रोको मासुलाई एकसय ८०० मा बेच्दै आएका छन् ।
उनका अनुसार कतिपय पसलेले दुई हजारसम्ममा बेच्ने गरेका छन् । यसरी च्याङ्ग्राको भाउ छोइनसक्नुभएका बेला यहाँका कुखुरापालक किसानले दशैंमा स्वादिष्ट लोकल कुखुरा उपलब्ध गराएका छन् । भाउ पनि च्याङ्ग्राभन्दा सस्तो छ ।
गलकोट नगरपालिका–६ मजुवाफाँटस्थित दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्मका सञ्चालक छुमबहादुर थापाले ३०० लोकल कुखुरा बेच्नका लागि ठिक्क भएको बताए । साकिने, घाँटीखुइले, उल्टेलगायत लोकल जातका कुखुरा फार्ममा छन् ।
‘एक किलाको ७५० मूल्य छ, चाडबाडमा कुखुराको बिक्री बढी हुन्छ’, उनले भने, ‘दशैंमा बोका, च्याङ्ग्रा किन्न नसक्नेलाई लोकल कुखरा नै ठिक छ ।’ स्वादिष्ट र स्वस्थकर हुने हुँदा लोकल कुखुराप्रति उपभोक्ताको रुचि छ ।
लोकल जातका कुखुराको व्यावसायिकपालन पनि बढ्दो छ । बागलुङ नगरपालिका–४ रातमाटाका अगुवा किसान वैकुण्ठ सापकोटाका अनुसार जिल्लाभर ५० भन्दाबढी किसान लोकल जातका कुखुरापालनमा संलग्न छन् । पहिले ब्रोइलर, कोइलर जस्ता उन्नत प्रजातिका कुखुराको बजार अत्यधिक थियो ।
‘दशैंमा च्याङ्ग्राको मासु महँगो भएर के भो र ? लोकल कुखुरा, खसीबोका छँदै छन् नी’, उनले भने, ‘ग्राहकलाई चाहिने जति कुखुरा दिन व्यवसायी तयार छन् ।’ स्थानीय उत्पादनको प्रयोगले किसानलाई प्रोत्साहन मिल्नुका साथै आन्तरिक बजार चलायमान हुने उनको भनाइ छ । उनले सञ्चालन गरेको सापकोटा कृषि फार्ममा अहिले ५०० लोकल कुखुरा छन् । फार्ममा साकिनी, गुजुमुजे, उल्टे र घाँटीखुइले जातका कुखुराको व्यावसायिकपालन हुँदै आएको छ ।
कडकनाथ, बेन्टम, सिल्की र पोलिस जातको आयातित कुखुरा पनि पालिएको छ । यस्तै चरा प्रजातिका बट्टाइ र टर्की छन् । उपभोक्ताले इछ्याएको कुखुरा फार्मबाट किनेर लैजान सक्छन् । लोकल साकिने जातको भाले प्रतिकिलो ८०० मा बिक्री भइरहेको उनले बताए । आयातित कुखुराको भाउ भने चर्को छ ।
लोकल जातको कुखुरा हुर्कन समय लाग्ने हुँदा पाँच÷छ महिनापछि मात्र बेच्न योग्य हुन्छ । खुला ठाउँमा चर्ने र गाउँकै दानापानी खाने भएकाले लोकल कुखुरा पौष्टिक र स्वादिष्ट हुन्छन् । ‘ब्रोइलर कुखुरालाई जस्तो नियमित भ्याक्सिन, औषधि दिनु पर्दैन’, उनले भने, ‘बारी र पाखामा छोडेर हुर्काउने गरिन्छ ।’
रातमाटामा सापकोटासँगै भविन्द्र विक, विजय शर्मालगायत लोकल जातका कुखुरापालनमा लागेका छन् । चौध वर्षसम्म मलेसियामा श्रम–पसिना बगाएर फर्कनुभएका विक र विदेश जाने चक्करमा पटकपटक हण्डर खाएका उनले लोकल कुखुरामा आफ्नो भविष्य देख्नुभएको छ ।