काठमाडौं । कोहिनुर हिल्स हाउजिङ लिलामी प्रक्रिया अघि बढेको छ । कर्मचारी सञ्चय कोषले ललितपुरको इमाडोलमा रहेको १० रोपनी ९ आना २ पैसा जग्गा र उक्त जग्गामा बनेको हाउजिङ लिलामी गर्न लागेको हो । कोषले आज उक्त जग्गा र जग्गामा निर्माणाधीन भवन खरिदका लागि ३५ दिने बोलपत्र आह्वान गरेको हो । कोषले इमाडोल गाविस वडा नं. ४ स्थित कोषको नाममा दृष्टिबन्धक रहेको कुल क्षेत्रफल १० रोपनी ९ आना २ पैसा जग्गा र सोमा निर्माणाधीन आवासीय भवन खरिदका बिक्री गर्नको लागि बोलपत्र खुलाएको हो ।
कोहिनुरका सञ्चालक सुधीर बस्नेतले समयमा नै कर्जा चुक्ता नगर्दा जग्गा र निर्माणाधीन भवन लिलामीमा परेको हो । कोहिनुर हिल हाउजिङले कोषको करिब १ अर्ब रुपैयाँ ऋण तिर्न बाँकी छ । ऋण मात्रै २३ करोड ७० लाख रुपैयाँ हो । कोहिनुरको नाममा इमाडोलमा २६ कित्ता जग्गा छ ।
हाउजिङले ऋण नतिरेपछि कोषले कोहिनुरको जग्गा र निर्माणाधीन भवन लिलामी गरेर ऋण असुलउपर गर्न लागेको हो । बोलपत्र फाराम कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभाग पुल्चोक, ललितपुरबाट एक हजार (फिर्ता नहुने) नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पुल्चोकमा रहेको चल्ती खाता नं. ००४०१०१०२५४३७३ मा जम्मा गरेको सक्कल भौचर बुझाई ३५औं दिनको १ बजेभित्र खरिद गर्न सकिने सूचनामा उल्लेख छ ।
बोलपत्र फाराम जसको नामबाट खरिद गरिएको हो, उसैको नामबाट सक्कलै भरी सम्बन्धित व्यक्तिले हस्ताक्षर गरी पेस गर्नुपर्नेछ । बोलपत्रदाता फर्म÷कम्पनी भए त्यसको आधिकारिक व्यक्तिको हस्ताक्षरसहित छाप लागेको हुनुपर्ने बोलपत्रमा उल्लेख गरिएको छ ।
बोलपत्र फाराममा आफूले कबोल गरेको रकम अंक र अक्षरमा स्पष्ट उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा लेखिएको रकम फरक पर्न गएमा अक्षरमा लेखिएको रकमलाई मान्यता दिइने कोषले जनाएको छ ।
बोलपत्र पेस गर्दा खामबाहिर ‘श्री कोहिनुर हिल हाउजिङ प्रालिको ललितपुर जिल्ला, इमाडोल गाविस वडा नं. ४ स्थित कोषको नाममा दृष्टिबन्धक रहेको कुल क्षेत्रफल १० रोपनी ९ आना २ पैसा जग्गा र सोमा निर्माणाधीन आवासीय भवन खरिदका लागि शिलबन्दी बोलपत्र’ भन्ने उल्लेख गर्नुका साथै बोलपत्रदाताको नाम, ठेगाना र फोन नम्बरसमेत राखी कोषलाई सम्बोधन गरी पेस गर्नुपर्नेछ ।
बोलपत्रदाताले बोलपत्रसाथ नागरिकताको प्रतिलिपि आफैंले प्रमाणित गरी पेस गर्नुपर्नेछ । बोलपत्रदाता फर्म वा कम्पनी भए फर्म÷कम्पनी दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र ( नवीकरणसहित) को प्रतिलिपि पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने फर्म÷कम्पनीले आफ्नो सञ्चालक समितिमा लिलामीमा भाग लिनेसम्बन्धी निणर्य गराई त्यसको प्रमाणित प्रतिलिपि बोलपत्रसाथ पेस गर्नुपर्ने लगायतका विषयवस्तु कोषको सूचनामा उल्लेख छ ।
लिलाम बिक्री हुने धितोको जानकारी कोषको कर्जा लगानी तथा ट्रेजरी व्यवस्थापन विभागमा सम्पर्क गरी लिन सकिनेछ । लिलाम हुने सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा लिनुपर्नेछ ।
स्वीकृत बोलपत्रदाताको नाममा उक्त सम्पत्तिको हक हस्तान्तरण गर्दा मालपोत कार्यालयमा तिर्नु÷बुझाउनुपर्ने रजिष्ट्रेसन दस्तुरलगायतका सम्पूणर् खर्च (पुँजीगत लाभकर बाहेक) सम्बन्धित बोलपत्रदाताले नै तिर्नु÷बुझाउनुपर्नेछ ।