सर्लाही । लालबन्दी नगरपालिका– २ जुटपानीमा करिब रू २० करोडको लगानीमा एकल गाईफार्म सञ्चालन गरिएको छ । स्थानीयवासी अप्सरा सिलवालले ‘कामधेनु गौशाला प्राली’ नामक कम्पनी दर्ता गरेर व्यावसायिक गाईपालन शुरु गरेको हो ।
उनले वडा नं २ स्थित लखनदेही नदी किनारको जग्गामा फार्म सञ्चालन गरी गाईपालन शुरु गरेको हो । शुरुमा दुई गाई पालेर गाईपालन शुरु गरेकी सिलवालले अहिले १५० गाई पालेको छ । जमिन आफैँले खरिद गरेर शुरुमा रु १० लाख लगानी गरेको सिलवालले अहिले १८ बिघा जमिनमा घाँस लगाएको छ ।
तीमध्ये ६५ गाई दुधालु छन् भने ५२ ब्याउने । हाल बिहान बेलुकी गरी दैनिक ७०० लिटर दूध उत्पादन हुने फार्म सञ्चालक सिलवालले जानकारी दिए । गाईपालनमा परिवारको पूर्णसाथ रहेको उनले बताए । उनका अनुसार गाईपालनमा जग्गासहित रू २० करोड लगानी पुगिसकेको छ । गाई खरीद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणका साथै गाई फार्म भएको जमीन कम्पनीकै रहेका कारण हालसम्म उक्त लागत लागेको उनको भनाइ छ ।
सिलवालका श्रीमान् अजित शरण लामिछाने पुर्खौली पेशा पण्डित्याइमा व्यस्त रहे । पछिल्लो समय परिवार मिलेर आफ्नो पुर्खौली पेशा पण्डित्याई छाडेर गाईपालनमा लागेको र पण्डित्याइ पेशाभन्दा गाईपालन पेशामा आफू खुशी रहेको उनको भनाइ छ ।
गाईपालन शुरु गरेपछि अरुले पनि आफ्नो गाई फार्ममा रोजगारी पाएको लामिछानेले बताए । फार्मलाई व्यवस्थापन गर्ने, हेरचाह गर्नेलगायतका काममा आफूले आफ्ना परिवार र आफन्तको साथ पाएको उनको भनाइ छ । गाई फार्म सञ्चालनबाट आफू खुशी भएको उनले बताए ।
फार्ममा उत्पादन भएको दूध ४० लिटर फार्मबाट र ६६० लिटर डिडिसी तथा प्राइभेट डेरीमा दिने गरिएको उनले जानकारी दिए । बिहान ५ः०० नबज्दै स्थानीय बासिन्दा दूध लिन फार्ममा आइसक्ने, सिलवालले भने, शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई लालबन्दी, हरिवन लगायतका बजारबाट समेत दूध लिन आउँछन् ।
अठार बिघा जमिन कम्पनीले खरीद गरेर त्यही जमिनमा गाईलाई आवश्यकपर्ने घाँस लगाएको र गाई भैँसीका लागि आवश्यकपर्ने साइजेल नामक पौष्टिक आहारसमेत आफूहरुले नै उत्पादन गर्ने गरेको सिलवालले बताए । गाईका लागि दैनिक करीब चार हजार २०० किलो साइलेज दाना खपत हुने गरेको छ ।
कम्पनीले उत्पादन गरेको साइलेज करीब ८५ टन बाहिरसमेत पठाउने गरिएको सिलवालले बताए । हाल फार्ममा उत्पादन भएको जैविक मल पाँच टन फार्म बाहिरका नागरिकलाई दिने गरिएको उनको भनाइ छ । अठार बिघा जमिन क्षेत्रभित्र गाई फार्म, घाँस उत्पादन, साइलेज दाना उत्पादन, ग्यास प्लान्ट र गोबर ग्यास उद्योगसमेत सञ्चालनको तयारी अवस्थामा छ ।
एक हजार गाई पाल्ने योजनाका साथ शुरु गरिएको सो अभियानले अहिले १५ जनालाई रोजगारीसमेत दिएको छ । विभिन्न छ प्रजातिका गाई पालिएको फार्ममा एउटा गाईले १० लिटरदेखि २५ लिटरसम्म एकपटकमा दुध दिने गरेको सञ्चालकको भनाइ छ ।
फार्ममा पालिएका गाई नवलपरासी तथा वीरगञ्जबाट ल्याउने गरिएको र होल्स्टेन, जर्सी, जर्सी क्रस, साइवाल, गिर तथा हरियाणालगायतका प्रजातिका गाई हाल फार्ममा रहेका सञ्चालकले बताएका छन् । फार्ममा पशु सेवा प्राविधिकको समेत व्यवस्था गरिएको सञ्चालक सिलवालले बताए । फार्ममा दुई जनासहित पशु सेवा प्राविधिक २४सैँ घण्टा रहने गरेका छन् ।
अनुदानका लागि प्रदेश र सङ्घ सरकारमा फाराम भरे पनि अहिलेसम्म कोही पनि अनुगमन तथा निरीक्षणका लागि नआएको उनले बताए । गाईबाट कम्पोष्ट मल बनाउने र ग्यास प्लान्ट निर्माण गर्ने तयारीसमेत भइरहेको उनले जानकारी दिए ।
उनी अहिले दूधबाट मासिक करीब रु १० लाख ५० हजार रकम सङ्कलन गर्छन । सिलवालले विसं २०६८ देखि गाई फार्म शुरु गरेका थिए । अन्तरराष्ट्रिय मोडलमा शुरु गरिएको गाई फार्म थप व्यवस्थित पार्दै अन्य गाई फार्मको तुलनामा फरक र व्यवस्थित बनाउँदै लैजाने तयारी गरेको सिलवालले बताए ।
हाल उन्नत जातका गाई पालिएको भए पनि अबका केही समयपछि लोकल प्रजातिका गाई पनि पाल्ने उनको योजना छ । गाईपालन र गोठ सुधारका लागि सिलवालले दुई पशु सेवा प्राविधिक राखेर गाईको हेरचाह गर्ने गरेका छन् । आफ्नै गाईले जन्माएका बाच्छीबाट नै भोलिका दिनमा गाई फामलाई थप व्यवस्थित पार्दै लैजाने योजना रहेको सञ्चालक सिलवालले बताए ।