काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपाकर्म, ऋृषितर्पणी र रक्षाबन्धन आदि श्रावणी पर्व र गाईजात्रापर्व यही भाद्र १४ गते बिहिवारका दिन मनाउनु पर्ने बताएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा धर्मशास्त्रीहरु र चाडपर्वविशेषज्ञहरुको उपस्थितिमा व्यापक छलफल गरी शास्त्रको मर्म र विद्वानहरुको राय मुताविक निर्णय भई स्वीकृत पञ्चाङ्गहरुमा वि.सं. २०८० साल भाद्र १४ गते बिहिवार पर्ने ऋृषितर्पणी र रक्षाबन्धन र गाईजात्रापर्व मनाउनु हाम्रो धर्म, संस्कृति र परम्परा अनुकूल हुने बताइएको छ । अघिल्लो दिन पूर्णिमासंगै भद्रा रहेकोले १३ गते रात्रिमा ९बजेर ३ मिनेटमा मात्र भद्रा सकिने हुँदा दिनमा रक्षाबन्धन गर्न नमिल्ने र रात्रिमा रक्षाबन्धन गर्ने परम्परा पनि नभएको जनाएको छ ।
यस वर्षको जस्तो तिथिहरुको अवस्थामा वि.सं. १९९४, २०२४, २०३०, २०३१, २०५५, २०६१, २०७० र २०७९ सालमा पनि परेको थियो । उक्त वर्षहरुमा १ घटिमात्र उदयपूर्णिमा भए पनि सोही दिन नै जनै पूर्णिमा मनाइएको पाइन्छ । धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखासूत्र अनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने हाम्रो परम्परासमेत रहि आएको छ । भाद्र १४ गते का दिन पूर्णिमा तिथि ३ मुहूर्त व्यापी छ । यसको अनुकल्प २ मुहूर्त भए पनि पुग्छ । चार वेदका पनि अनेक शाखासूत्र भएकोले कतिपय निर्णय स्वशाखा सूत्रानुसार हुने गर्दछ । स्वशाखा सूत्रमा फरक परेमा शाखासूत्रानुसार गर्ने छुट पनि सवैलाई रहेको सूचना समितिवाट स्वीकृत सवै पञ्चाङ्गमा उल्लेख भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिद्धारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।