राष्ट्र बैंकले गरेको चालु पूँजी कर्जा मार्गदर्शन संशोधनले उद्योग व्यवसाय क्षेत्रमा सकारात्मक प्रभाव पार्नेः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र बैंकले सोमबार मात्रै चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गरी उद्योग व्यवसाय क्षेत्रका सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

उनले सरकारले अर्थतन्त्रको सकारात्मक सुधारका लागि सरकारले आवश्यक पहलकदमी लिएको र त्यसको सकारात्मक प्रभाव देखा परेको जानकारी दिए ।

दिगो समावेशी आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएको र सोही दिशामा क्रियाशील रहेको प्रधानमन्त्रीले स्पष्ट पारे । सरकारको सुधारका कदमबाट अर्थतन्त्र सकारात्मक दिशातर्फ केन्द्रित रहेको उनको कथन छ ।

प्रधानमन्त्रीले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रमा राखेर सरकारले आफ्ना गतिविधिलाई अगाडि बढाइरहेको बताएका छन् । सार्वजनिक सेवामा जनताको सहज पहुँच विस्तार गर्ने, विकास निर्माण प्रक्रियालाई गति दिन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्रीले निकट भविष्यमा हुन लागेको चीन भ्रमणका क्रममा दुई देशका बीचका सहकार्यलाई थप विस्तार गर्ने, आर्थिक सम्बन्धलाई थप सहज बनाउने र नयाँ नाका खोल्ने लगायतका विषयमा महत्वपूर्ण छलफल हुने र निष्कर्षमा पुर्‍याउने बताए । प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेशको राजधानीको विस्तार र विकासका लागि सरोकारवालासँग थप छलफल गरेर निर्णय हुने उल्लेख गरे ।

राष्ट्रिय गौरवका आयोजनालाई थप गति दिन सरकारले आफ्ना संयन्त्रलाई पूर्णरुपमा परिचालित गरेको जानकारी दिँदै उनले ती आयोजना यथाशीघ्र सम्पन्न गर्न जोड दिएको बताए । प्रतिनिधिसभाको बैठक जारी छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स