काठमाडौं । प्रतिनिधिसभा अन्तर्गत रहेका ९ संसदीय समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि भने निर्वाचन हुन लागेको छ ।
उक्त समितिको सभापतिका लागि सत्ता र प्रतिपक्षको गठबन्धनबाट जनमतका अब्दुल खान उम्मेदवार छन् भने विपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट गणेश पराजुली उम्मेदवार छन् ।
समितिहरुमा नेपाली कांग्रेसबाट तीन, नेकपा एमालेबाट दुई, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र रास्वपाबाट १–१ जनाले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका थिए ।
अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसकी आरजु देउवा, राज्य व्यवस्था तथा सुशासन समितिमा कांग्रेसका रामहरि खतिवडा, सार्वजनिक लेखा समितिमा एमालेका ऋषिकेश पोखरेल, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह, कानुन, न्याय तथा मानवअधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा एकीकृत समाजवादीका भानुभक्त जोशी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव र पूर्वाधार विकास समिति सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको मात्रै उम्मेदवारी परेको छ ।
प्रतिनिधिसभा अन्तर्गत १० वटै समितिका सभापतिहरू निर्वाचित भएको घोषणा सोमबार दिउँसो ३ बजे गर्ने कार्यक्रमा रहेको छ । संसदीय समितिका सभापतिहरूको शपथ दिउँसो साढे ४ बजे सभामुख घिमिरेले सिंहदरबारस्थित संसद् सचिवालयमा गराउने कार्यक्रम रहेको छ।