काठमाडौं । काठमाडौँ महानगरपालिकाले दक्षिणकालीस्थित मनमोहन स्मृति सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि १५ लाख सहयोग गर्ने भएको छ ।
महानगरपालिकाकोतर्फबाट जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर र अस्पतालकोतर्फबाट कार्यवाहक अध्यक्ष पूर्णबहादुर शाहीले सहयोग पत्रमा शुक्रबार हस्ताक्षर गरेको हो ।
सो अवसरमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चिकित्सक र बिरामी दुवैको आत्मविश्वास बढाउनका लागि सहयोग गरिएको उल्लेख गर्दै आत्मविश्वासले रोग छिटो निको हुने बताए ।
उनले प्रसिद्ध धार्मिक तथा एतिहासिक दक्षिणकाली मन्दिर क्षेत्रको सुधारका लागि एक करोड र सार्वजनिक ठाउँमा हरियाली पार्क निर्माणका लागि एक करोड यसअघि नै महानगरपालिकाले सहयोग गरिसकेको जानकारी दिए ।
अस्पतालका कार्यवाहक अध्यक्ष शाहीले अस्पतालको क्षमता विकास भएपछि काठमाडौँ, ललितपुर र मकवानपुरका बिरामीलाई उपचारमा सहज हुने विश्वास व्यक्त गरे । सम्झौताबमोजिम महानगरले प्लान्ट चलाउन १५ लाख अनुदान दिनेछ । अस्पतालले अन्य स्रोतबाट रकम थपेर प्लान्ट स्थापना गर्नेछ । सम्झौताबमोजिम सञ्चालन हुने प्लान्टमा ‘काठमाडौँ महानगरपालिकाको सहयोगमा सञ्चालित’ लेख्नुपर्नेछ । नगर साझेदारी कार्यक्रमअन्तर्गत सो सहयोग प्रदान गरिएको महानगरपालिकाले जनाएको छ ।