सामाजिक सुरक्षा कोषको सीईओ बन्न १२ जनाको पर्यो आवेदन, कस–कसले दिए आवेदन

काठमाडौं । सामाजिक सुरक्षा कोषमा रिक्त रहेको कार्यकारी निर्देशकका लागि १२ जनाले आवेदन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको कोषको कार्यकारी निर्देशकका लागि विभिन्न क्षेत्रमा अनुभव भएका १२ जनाले आवदेन दिएका हुन् ।
नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक, हालका निर्देशकदेखि वाणिज्य बैंकका सेवानिवृत्त डिसीईओ, नेपाल स्टक एक्सचेञ्चका पूर्व सीईओ चन्द्रसिंह साउँदसम्मले आवेदन दिएका छन् ।

कोष कार्यकारी निर्देशकका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक अशोक पौडेल, हालका निर्देशक शहदेव चन्द, राष्ट्रिय वाणिज्य बैंकका पूर्व नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कविराज अधिकारी, युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, नेपाल स्टक एक्सचेञ्चका पूर्व सीईओ चन्द्रसिंह साउँद, लिलाराज ढकाल रहेका छन् ।

तत्कालीन आरम्भ लघुवित्तका सीईओ लक्ष्मीप्रसाद शर्मा र सर्पोट माइक्रोफाइनान्सका पूर्व सीईओ कुलमणी तिमिल्सिना, प्राइम बैंकमा कार्यरत पदमराज पौडेल, जीवन विकास लघुवित्तका पूर्व सहायक महाप्रबन्धक रोहित भण्डारी, वैदेशिक रोजगार बोर्डबाट पूर्व कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र बचत तथा ऋण केन्द्रिय संघ (नेफ्स्कुन)का निर्वतमान सीईओ प्रकाश पोखरेलले पनि कोषको कार्यकारी निर्देशकका लागि आवेदन दिएका छन् ।

कोषले गत साउन १६ गते एक सूचना जारी गर्दै कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको थियो । ५५ वर्ष ननाघेको शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले २१ दिनभित्र आवेदन दिने समय तोकेको थियो ।

अर्थशास्त्र, व्यवस्थापन, श्रम, वाणिज्यशास्त्र वा कानुन विषयमा कम्तीमा पनि स्नातकोत्तर उपाधि हासिल गरेको र सरकारी वा गैरसरकारी संघसंस्था वा प्रचलित कानूनबमोजिम स्थापना भएको कम्पनी वा संगठित संस्थाको अधिकृतस्तरको पदमा कम्तीमा १५ वर्षको कार्य अनुभव भएको योग्यता तोकिएको थियो ।

आवेदन परेका मध्यबाट ३ जनाको नाम छनोट गरेर नियुिक्तका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गर्नेछ । छनोट भएका व्यक्तिमध्यबाट समितिले योग्यता, अनुभव, नेतृत्व गर्न सक्ने क्षमता तथा उसले पेश गरेको कोष व्यवस्थापन तथा सञ्चालनको कार्ययोजनाको मूल्यांकन गरी सबैभन्दा उपयुक्त उम्मेदवारलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स