काठमाडौं । घरजग्गा कारोबार बढाउन घरजग्गा व्यवसायीले बैंकरहरूलाई गुहारेका छन् । सबै परिस्थिति सहज बन्दै गर्दा पनि बैंकको महँगो ब्याजका कारण व्यवसायमा सुधार नआएको भन्दै उनीहरूले नेपाल बैंकर संघमा आज छलफल गरेका हुन् ।
सो छलफलमा घरजग्गा व्यवसायीहरूले घरजग्गा धितो राखेर पाइने ऋणको अनुपात बढाउने, घरजग्गाको फेयर मार्केट भ्यालु निकाल्न एउटै सुत्र प्रयोग बनाउने, बैंकहरुले आधार दरमा धेरै मार्जिन राख्न नहुने विषयमा छलफल भएको नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएलएचडीएफ) का अध्यक्ष भेषराज लोहनीले बताए ।
‘हामीले आज बैंकर्स संघका अध्यक्षसहितका पदाधिकारीहरूलाई भेटेर सबैभन्दा पहिला घरजग्गा कारोबारको लोन टु भ्यालु रेसियो (घरजग्गा धितो राखेर पाइने ऋणको अनुपात) लाई बढाउन राष्ट्र बैंकसँग आग्रह गर्ने छलफल गरेका छौं,’ उनले भने ‘बैंकहरूले आफूखसी घरजग्गाको फेयर मार्केट भ्यालु (सरकारी मूल्यांकन र चलनचल्तीको दरलाई आधार मानेर निकालिने रकम) राख्ने र त्यो भ्यालू निकाल्ने सुत्र भिन्न–भिन्न लगाउने हुँदा त्यसमा एकरुपता कायम पनि हामीले सल्लाह दिएका छौं ।’
आजको बैंठकमा घरजग्गा व्यवसायीहरूले लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याउन बैंकरहरू र हामी मिलेर साझा एजेण्डा बनाएर राष्ट्र बैंकसँग आवश्यक छलफल गर्ने समझदारी समेत बनेको छ ।
उनका अनुसार बैंकहरुले घरजग्गाको फेयर मार्केट भ्यालु निकाल्न विभिन्न सूत्र बनाउने गरेका छन् । त्यसलाई एकरुपता दिन अर्थात एउटै फर्मूला लगाएर भ्यालु निकाल्न उनीहरूले आग्रह गरेका हुन्। अहिले बैंकहरूले भिन्न सूत्र प्रयोग गरेर घरजग्गाको फेयर मार्केट भ्यालु निकाल्ने गरेका छन् ।
बैंकहरुको आधार दर घटेको समयमा प्रिमियम कम लिएको भए पनि अहिले आधार दर बढेको अवस्थामा प्रिमियम बढाएर लिने गरिएको भन्दै घरजग्गा व्यवसायीहरुले बैंकरहरुसँग गुनासो गरेका छन्। व्यवसायीहरूले बैंकर्सहरू अहिलेको प्रतिकूल अवस्थामा निक्षेपमा बढी ब्याज दिने प्रतिस्पर्धा नगर्न आग्रह गरेका छन् ।