काठमाडौं । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडले गत श्रावण २१ गते संस्थाको प्रथम वार्षिकोत्सवका अवसरमा घोषणा गरेको सेवामुखी योजनाः परिभ्रमण कार्यक्रम अन्तर्गत ‘बा–आमाका लागि निःशुल्क चार नारायण भ्रमण’ आज सम्पन्न भएको छ ।
खुल्ला सार्वजनिक दर्ताविधिबाट नाम दर्ता गराउने ३१ जना ज्येष्ठ नागरिक बा–आमाहरुको गरिमामय सहभागितामा चाँगु नारायण, विशंखु नारायण, शेष नारायण तथा इचंगु नारायणको दर्शन सम्पन्न गरी पुण्यार्जन गर्नुका साथै आशीर्वाद ग्रहण गरेको संस्थाले जनाएको छ ।
यस पवित्र उद्धेश्यमा स्वास्थ्यपरीक्षण सेवा उपलब्ध गराई काठमाडौं, बल्खुस्थित वयोधा हस्पिटलले सहकार्य गरेको छ । गतवर्ष श्रावण महिनामा स्थापित यस संस्थाको प्रधान कार्यालय दरबारमार्गमा रहेको र संस्थाले पर्यटनसम्बन्धी विविध सेवाहरु एकै छानामुनि प्रदान गर्दछ ।
संस्थाका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले यो संस्था पर्यटनक्षेत्रसँग आवद्ध नेपालकै पहिलो पब्लिक लिमिटेड कम्पनी भएको नाताले पर्यटनसँग समाजका विविध पक्षहरुलाई जोड्ने, शिक्षा तथा संस्कारमा पर्यटनको महत्वलाई स्थापित गर्ने अठोट लिएको बताए ।
धरेलले पृथक र नवीन पर्यटकीय गन्तव्य र भ्रमण अनुभवहरुको प्रचारप्रसार गर्दै दीगो सामाजिक आर्थिक रुपान्तरणमा भूमिका खेल्न दत्तचित्त भएर लागिरहने र परिभ्रमण कार्यक्रम त्यसै सामाजिक अभियानको रुपमा रहने र सोही अनुरुप अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्दैजाने बताए ।