गण्डकी । आध्यात्मिक, जैविक, आर्थिक र पर्यावरणीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिएको कालीगण्डकी नदीमा पाइने विश्वकै बहुमूल्य शिला शालिग्राम अवैधरुपमा गरिएको व्यापक नदी दोहनका कारण गिटीमा परिणत हुँदै गएको छ ।
नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुनेगरी भइरहेको नदी दोहनले कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको र मानव जाति एवं प्रकृतिमाथि संकट निम्ताइरहेको संरक्षणकर्मी बताउँछन् ।
नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुङ्गा निकाल्दा धार्मिक र आर्थिक महत्वलेयुक्त शालिग्राम शिला गिटीमा परिणत हुँदै गएका शालिग्रामका अध्येता रंगराज आचार्यले बताए ।
शालिग्रामको धार्मिक महत्व
आचार्यका अनुसार भगवान विष्णु पतिब्रता वृन्दाको श्रापका कारण शिलास्वरूप भई गण्डकीक्षेत्रमा रहेकाले शालिग्रामलाई भगवान् विष्णुको अंश मानेर हिन्दूधर्मावलम्वीले पूजा गर्ने गर्दछन् ।
त्यसका साथै पञ्चतत्वले बनेको मानव शरीर संरक्षण र सम्वद्र्धन गर्न गणेश, शिव, विष्णु, देवी, सूर्यस्वरूप पाञ्चायन पूजा गर्ने गरिन्छ । मृत्युशैयामा रहँदा शालिग्रामको जल, कुशको आसन, मुखमा तुलसी रहेमा त्यस व्यक्तिलाई मोक्ष प्राप्त हुने विष्णु पुराणमा उल्लेख छ ।
ब्रह्मपुराणमा पनि शालिग्रामबारे चर्चा गरिएको छ । सो पुराणमा शालिग्रामको आकार, लक्षण र वर्णको विस्तारपूर्वक वर्णन गरिएको छ । त्यसमा उल्लेख भएअनुसार शालिग्राम पूजाबाट जीवनको परम उद्देश्य धर्म, अर्थ, काम र मोक्ष चारै किसिमका पुरुषार्थ प्राप्त हुन्छन् ।
शालिग्राममा प्राकृतिकरुपमा नै शङ्ख, चक्र, गदा, पद्म आकार कुँदिएको पाइन्छ । यस्ता चिन्ह अङ्कित शिला अत्यन्त कम मात्रामा भेटिने र ती बहुमूल्य हुने आचार्यले जानकारी दिए । स्कन्दपुराणमा उल्लेख भएअनुसार यस्ता शिलाबाट सर्पभय, अग्निभय, दुःख, दारिद्रय नास हुन्छ । केवल पद्म आकारको शिला पनि शुभदायक हुन्छ । कुनै शिलालाई वराह शिला भनिन्छ । शूल र कमलको चिहृन अङ्कित शिलालाई ‘वैनतेय’ शिला भनिन्छ ।
धार्मिक ग्रन्थमा टुक्रिएको, टुटेफुटेको शालिग्राम पूजा गर्नु हुँदैन भनिएको छ । दाम्पत्यजीवन सफल र सौभाग्यशाली बनाउन चाहनेले तुलसीदल विना शालिग्राम पूजन गर्नु हुँदैन भनिएको छ । ब्रह्मपुराणले जलमा रहेको शालिग्राम नरम र जमिनमा रहेको कडा तथा सुख्खा हुन्छ भनेको छ । दुवै शिला पुजनीय छन् । घरमा पूजा गर्ने शालिग्राम कालो चिल्लो हुनुपर्छ भनिएको छ । शालिग्रामको नित्य उपासना गर्ने व्यक्ति निरोगी र पूर्ण आयुको हुने र उसका ब्रहृमहत्यादि ठूला पाप भए पनि सबै पखालिने कुरा स्कन्दपुराण हिमवत्खण्डमा बताइएको छ ।
म्याग्दीका पं नीलकण्ठ आचार्यका अनुसार मृत्युपछि वैकुण्ठबास चाहनेले हरदम शालिग्रामको उपासना गर्नुपर्ने विषयको चर्चा पुराणमा छ । पितृश्राद्धमा शालिग्रामको जल, विष्णुपादुका अनिवार्य मानिन्छ ।
आर्थिक महत्व
शालिग्राम धार्मिक महत्वले मात्रै नभई आर्थिक दृष्टिकोणलेसमेत अत्यन्त महत्वपूर्ण मानिन्छ । शालिग्रामभित्र सुनलगायतका बहुमूल्य धातु हुने भएकाले दामोदरकुण्डदेखि गुल्मीको रिडीसम्मको कालीगण्डकी क्षेत्रबाट व्यापकरुपमा शालिग्रामको चोरी निकासी भइरहेका गुनासा आए पनि त्यसको नियन्त्रण हुन सकेको छैन ।
कालीगण्डकीको शालिग्राम पछिल्लो समय भारतहुँदै तेस्रो मुलुक (ण्युरोप, अमेरिका) तिर निर्यात भइरहेको भन्ने व्यापक गुनासो सुनिन थालेको भारतको इब्राइमपुरस्थित रंगवेंकटेश मन्दिरका आचार्य टीकादत्त सिग्देलले जानकारी दिए ।
तेस्रो मुलुकमा शालिग्राम महँगो मूल्यमा बिक्री हुने गरेको बताइएको छ । त्यहाँ संगमरमरको बीचबीचमा शालिग्राम शिला विछ्याइने गरिएको, शालिग्रामलाई फोडेर धातु निकाल्ने गरिएको जानकार बताउँछन् । नेपाल र भारतमै पनि चिल्लो कालो एउटै शालिग्राम लाखौंको मूल्यमा बिक्री हुने गरेको शालिग्रामको महत्वलाई बुझ्नुभएका म्याग्दीका पं भीमनाथ पराजुलीले बताए । शालिग्राममा देखिने विभिन्न प्रकारका रेखा तथा चक्र कुनै व्यक्ति विशेषले बनाएको नभई गङ्गामा पाइने एक प्रकारको कीराले बनाउने उनले जानकारी दिए ।
मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले शालिग्रामको महत्व धेरै भए पनि त्यसको अवैध चोरी निकासी बढ्दै गएको बताए । कालीगण्डकीमा मात्र पाइने शालिग्राम विभिन्न माध्यम हुँदै छिमेकी मुलुक भारतका ठूलाठूला धार्मिकस्थलसम्म पुग्ने गरेका उनको भनाइ छ ।
कागबेनी क्षेत्रमा शालिग्राम प्रशस्तमात्रामा पाइने बताइएको छ । उक्त क्षेत्रमा तुलनात्मकरूपले धेरै शालिग्राम पाइने विश्वास गरिन्छ । काली र गण्डकी दुई नदीकाबीचमा रहेको पर्वतबाट हिउँसँग पग्लेर शालिग्राम गण्डकीमा आउने पुजारी सुवेदीको भनाइ छ ।
स्वास्थ्यका लागि अमृत जस्तै हो शालिग्राम
धार्मिक र आर्थिक दृष्टिकोणबाट मात्रै नभई शालिग्राम मानव स्वास्थ्यका लागिसमेत अत्यन्त महत्वपूर्ण रहेको बताइएको छ ।
शालिग्राम छोइएको पानी पिउँदा शरीरलाई समेत फाइदा पु¥याउने पण्डित पराजुलीको भनाइ छ । ‘यसमा विभिन्न धातु मिसिएका हुन्छन्, त्यसैले वैज्ञानिकले पनि शालिग्राममा भिजाएको पानी पिउनयोग्य हुने प्रमाणित गरेका छन्’, पराजुलीले भने ।
आयुर्वेदिक चिकित्सकले पनि पानीमा शालिग्राम डुबाएर राख्ने र आधा घण्टापछि त्यो पानी सेवन गर्ने हो भने अम्लपित्त, कफ, पेटका विकार, चर्मरोगलगायत रोग निको हुने बताउँछन् । आयुर्वेदक चिकित्सक विष्णु सापकोटाका अनुसार नियमितरुपमा एक महिनासम्म शालिग्राममा तुलसीको पात राखेर एक लिटर पानीमा डुबाएर आधा घण्टापछि त्यो पानी सेवन गर्ने हो भने पेटका विकारसम्बन्धी सम्पूर्ण रोगबाट छुटकारा पाउन सकिन्छ ।